काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेसहित अधिकांश उम्मेदवारको धरौटी जफत भएको छ। यस क्षेत्रमा कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । तर विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्रै आफ्नो धरौटी जोगाउन सफल भएका छन् भने बाँकी २६ उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन ऐनको दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । काठमाडौं–१ मा कुल २९ हजार ८२ सदर मत खसेकाले कम्तीमा २ हजार ९०८ मत ल्याउने उम्मेदवारले मात्रै धरौटी जोगाउन सक्ने स्थिति थियो । यस मापदण्ड पार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा ६ हजार ३६४ मतसहित दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे । यी तीन उम्मेदवारले मात्र आवश्यक मत सीमा पार गर्दै आफ्नो धरौटी जोगाउन सफल भएका हुन् । यसै क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ । त्यस्तै उज्यालो नेपाल पार्टीका मङ्गलाल श्रेष्ठ (४६६), श्रम संस्कृति पार्टीका समीर लामा तामाङ (४२६) र नेपाल कम्युनिष्ट पार्टीकी मेनुका भण्डारी (३४५) ले पनि आवश्यक मत ल्याउन सकेनन् । नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टीका उम्मेदवारहरूले समेत सय मतको आँकडा पार गर्न सकेनन् । दलीय उम्मेदवारसँगै प्रतिस्पर्धामा रहेका १४ जना स्वतन्त्र उम्मेदवारको पनि धरौटी जफत भएको छ। केही उम्मेदवारले १ वा २ मत मात्र प्राप्त गरेका छन् भने नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुनबहादुर शाहीले शून्य मत पाएका छन्। स्मरणीय छ, यही निर्वाचन क्षेत्रबाट विगतमा मदन भण्डारी र विद्या भण्डारी निर्वाचित भएका थिए। अहिले भने सोही क्षेत्रमा एमालेका उम्मेदवारको धरौटी समेत जफत भएको छ।











प्रतिक्रिया