निभिक्सलाई डब्लुएचओ–जिएमपी प्रमाणपत्र


काठमाडौँ
निभिक्स फर्मास्युटिकल्स लिमिटेड ले आफ्ना उत्पादन (म्यानुफ्याक्चरिङ) औषधिका लागि पहिलो पटक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा प्रदान गरिने गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ ।

यस प्रमाणपत्रसँगै कम्पनीको उत्पादन प्रणाली, गुणस्तर नियन्त्रण, कागजी अभिलेख व्यवस्थापन, वातावरणीय नियन्त्रण तथा दक्ष जनशक्ति व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि भएको छ । हाल कम्पनीका ६८ भन्दा बढी औषधि उत्पादनले सरकारी खरिद प्रक्रियामा सहभागिता बलियो बनाउने तथा अन्तर्राष्ट्रिय बजारमा निर्यातका अवसर विस्तार गर्ने आधार तयार गरेका छन् भने १०० भन्दा बढी औषधि उत्पादनका लागि नियामक निकायबाट स्वीकृतिसमेत प्राप्त भइसकेको छ ।

सर्वसाधारणसम्म पहुँच विस्तार गर्ने उद्देश्यले कम्पनीले साधारण शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागिसकेको जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बाँनियाका अनुसार “नवप्रवर्तन, गुणस्तर र दक्षता” प्रति प्रतिबद्धताका कारण यो उपलब्धि सम्भव भएको हो ।

डब्लुएचओ–जिएमपी मापदण्डले औषधि उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षा र प्रभावकारिताअनुसार सञ्चालन भएको सुनिश्चित गर्ने भएकाले यो उपलब्धि कम्पनी मात्र नभई नेपालको औषधि उद्योगका लागि समेत महत्वपूर्ण कोशेढुंगा बनेको छ ।