लुम्बिनीमा एकैपटक ५ सय जनालाई भिक्षु बनाइने


ललितपुर ।

लुम्बिनीमा यही फागुन २६ गते ५ सय जनालाई अस्थायी भिक्षु (अल्पकालीन प्रबज्या) बनाइने भएको छ ।
अखिल नेपाल भिक्षु महासंघ, थाई इन्डिया–नेपाल धर्मदूत र प्रबज्या नेपालले थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन कलपुत्र प्रबज्या कार्यक्रमअन्तर्गत भिक्षु बनाउने कार्यक्रम गर्न लागेको हो । थाई राजकीय विहार सहआयोजक र प्रबज्या नेपालले व्यवस्थापन गर्ने बताइएको छ । यसमा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, धर्मोदय सभालगायत संघसंस्थाको सहयोगी भूमिकामा रहने छ ।

लुम्बिनीलाई विश्वको शान्ति तथा आध्यात्मिक केन्द्रका रूपमा प्रचारप्रसार गर्ने, मानिसहरूमा आध्यात्मिक ज्ञान तथा चेतना वृद्धि गराउने र लुम्बिनी घुम्न आउने पर्यटकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थाई इन्डिया – नेपाल धर्मदूतका अध्यक्ष भिक्षु थावरले पत्रकार भेटघाटमा जानकारी गराउनुभयो ।

भिक्षु थावरका अनुसार प्रबज्या हुनेहरूलाई फागुण २८ गतेसम्म नागबहालमा श्रामणेर हुनेहरूलाई पात्र दान गरिने छ भने चैत्र २ गते लुम्बिनीमा भिक्षु अर्थात् श्रामणेर बनाइने छ । उनीहरू १५ दिनसम्म भिक्षु भएर बस्नुपर्ने छ । थाइल्यान्डका प्रसिद्ध भिक्षु फ्रा फ्रोमसिनावादीको उपाध्याय र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरको उपस्थितिमा भिक्षु (प्रबजित) बनाइने छ । यसमा नेपालीहरूसँगै थाइल्यान्डका नागरिकहरू पनि सहभागी हुने छन् ।

त्यसपछि चैत्र १४ गते गते बुटवल, देवदह र लुम्बिनी धर्मयात्रा गराइने छ । त्यस्तै, चैत्र १६ र १७ गते गते क्रमशः हनुमान ढोका दरबार क्षेत्र र अक्षेश्वर महाविहारमा भिक्षाटन गराइने छ । त्यसपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण र भिक्षु भएकाहरू गृहस्थ जीवनमा फर्किने छन् ।

बाँकी दिनमा बुद्धको व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाइने प्रबज्या समाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले पत्रकार भेटघाटमा बताउनुभयो । भिक्षु बन्न इच्छुक व्यक्तिले फागुण २६ गतेभित्रमा नाम दर्ता गराउन सक्नेछ । कार्यक्रम भाग लिन कुनै शुल्क लाग्ने छैन । पुल्चोकस्थित अक्षेश्वर महाविहार र लुम्बिनी हलमा नाम दर्ता गराउन सम्पर्क केन्द्र तोकिएको छ ।

‘जुनसुकै समुदाय, देशका इच्छुक व्यक्तिले भिक्षु बन्नका लागि नाम दर्ता गराउन सक्नेछ । यसमा जात, थरको बन्देज छैन ।’ अखिल नेपाल प्रबज्या नेपाल समितिका अध्यक्ष भिक्षु बोधिज्ञान भन्नुभयो ।

भिक्षु हुन्जेलसम्म दिनको एक छाकमात्र खानेसहित दश वटा विनयनियम पालना गर्नुपर्ने छ । १५ दिनभित्रमा सहभागीहरूले भिक्षु जीवनको अनुभूति गर्दै बुद्धको ज्ञान र दर्शनको आधारभूत विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गर्ने छन् । यसले गृहस्थ जीवनमा सकारात्मक सोच, शान्ति र तनावरहित तवरले जीवन बिताउन टेवा पु¥याउने ध्यान गुरु भिक्षु बोधिज्ञान महास्थविरको भनाइ रहेको छ ।

सो कार्यक्रम २०६८ सालमा १ सय ११ जना भिक्षु बनाएसँगै निरन्तर सञ्चालन हुँदै आएको छ । यसअघि १ हजार १ सय १२ जना, १ सय ५० जना, १ हजार १ सय १९ जना, ५ सय जना र १ हजार २ सय ५० जना गरी अलग अलग भिक्षु बनाउने कार्यक्रम सम्पन्न भइसकेको कार्यक्रम निर्देशक राजेश शाक्यले बताउनुभयो ।