देश रूपान्तरणका १ सय आधार पेस
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ । फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रास्वपाले बिहीबार वाचा पत्र सार्वजनिक गरेको हो ।
सुर्खेतमा आयोजित चुनावी सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले वाचा पत्र सार्वजनिक गरेका हुन् ।
रास्वपाले यसअघि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका करार पत्र सार्वजनिक गरेको थियो । करार पत्रमा दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठनलगायतका विषय समेटिएको छ । रास्वपाको वाचापत्रमा रूपान्तरणका एक सय आधार प्रस्तुत गरिएको छ । तिनै आधारमा रहेर देश रूपान्तरण गर्ने रास्वपाले वाचा गरेको छ । यसलाई रास्वपाले थिति बसाल्ने संकल्प भनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व गर्न पाए राज्यको सेवा–सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्ने बताएको छ ।
वाचापत्रमा रास्वपाले सरकारमा आउनेबित्तिकै राज्यका विभिन्न निकायहरूमा कार्यरत सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्ने उल्लेख गरेको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउनेबित्तिकै राज्यका विभिन्न निकायहरू– कर्मचारीतन्त्र, शिक्षण सेवा, प्राध्यापन, सुरक्षा निकाय, अदालत तथा संवैधानिक अंगहरूलगायत राज्यको सेवा–सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्छौं,’ वाचापत्रमा भनिएको छ ।
रास्वपाले राज्य संयन्त्र कुनै दलको शाखा कार्यालय नभएर सम्पूर्ण नागरिकको साझा संस्था भएको प्रष्ट्याएको छ । रास्वपाले भ्रातृ संगठन निर्माण नगर्ने पार्टीको पुरानो नीतिलाई निरन्तरता दिने भएको छ ।
‘
कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछौं,’ वाचापत्रमा भनिएको छ, ‘जनताले तिरेको करबाट तलब भत्ता लिएर राज्यका निकायहरूका विभिन्न ओहोदामा बसेर राज्य र संविधानप्रति नभई आफ्नो मातृ राजनीतिक दलप्रति निष्ठा राख्दै काम गर्नु राष्ट्रप्रति अनैतिक र दण्डनीय कृत्य हो भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’
वाचापत्रमा कर्णालीको विकासका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्र, र वैदेशिक रोजगारीमा गएका युवाको मताधिकार सुनिश्चित गर्ने विषयलाई महत्वका साथ उठाइएको छ ।
प्रमुख वाचाहरू
–भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारमा जोड
–प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याइने
–राष्ट्र गौरवका सबै आयोजनालाई दुई वर्षमा सम्पन्न गर्ने
–बचतकर्ताको रकम हिनामिना गर्नेलाई थुनेर होइन सुनेर बचत फिर्ता
–नेपाल आउने पर्यटकको संख्या ५ वर्षभित्र दोब्बर
–आगामी दशकमा ३० हजार मेगावट बिजुली उत्पादन
–१४ मन्त्रालय र विशेषज्ञ मन्त्री राखिने
–सबैखाले आर्थिक अपराध रोकिने











प्रतिक्रिया