कैलाली–५ मा प्रेम आलेको पक्षमा जनलहर, ११५ युवाद्वारा पार्टी प्रवेश


कैलाली ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नं। ५ मा प्रेमबहादुर आलेको पक्षमा माहोल दिनप्रतिदिन सुदृढ बन्दै गएको देखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट उम्मेदवार बनेका आलेले चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा युवा भेटघाटलाई प्राथमिकता दिइरहनु भएको छ ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका आलेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, विकासका आवश्यकताहरू तथा दीर्घकालीन योजनाबारे सुझाव संकलन गरिरनु भएको छ ।

उहाँले आफ्नो मुख्य एजेन्डाका रूपमा भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना, युवा सशक्तीकरण तथा सुशासनलाई अघि सार्नु भएको छ ।

यसै क्रममा आज बिहीबार धनगढी उपमहानगरपालिका–२, रामजानकी टोलका ११५ जना नवयुवाहरू नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार आलेसँगै कैलाली–५ निर्वाचन परिचालन समितिका संयोजक ओम पुन र सह–संयोजक दिनेश सुबेदीले नवप्रवेशी युवाहरूलाई टीका तथा खादा लगाएर स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उम्मेदवार आलेले युवाशक्ति राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले कैलाली–५ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उम्मेदवार आलेका विकास एजेन्डा व्यवहारिक र जनमुखी रहेका स्थानीयवासी दीपकबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आलेका विकासका एजेन्डा जायज छन् । उहाँ विकास गर्ने र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न सक्ने व्यक्ति हुनुहुन्छ । यसपटक हामी उहाँलाई नै सहयोग गर्छौँ ।”

स्थानीय मतदाताहरूका अनुसार विगतमा निर्वाचित विभिन्न दलका प्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले यसपटक सक्षम र प्रतिबद्ध नेतृत्वलाई अवसर दिनुपर्ने धारणा बलियो बन्दै गएको छ ।

विशेषगरी सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, शिक्षा पूर्वाधार र स्वास्थ्य सेवा सुधारका विषयलाई लिएर जनतामा स्पष्ट एजेन्डा राख्ने उम्मेदवारप्रति आकर्षण बढेको बताइन्छ ।