लमजुङमा चुनावी बहस, आधाभन्दा बढि उम्मेदवार अनुपस्थित

564
Shares

लमजुङ ।

लमजुङको सदरमुकाम बेसीशहरमा बिहीबार प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित चुनावी बहसमा आधा भन्दा बढि उम्मेदवार अनुपस्थित भएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा एक स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट १२ जना उम्मेदवार भएपनि कार्यक्रममा पाँचजना मात्रै उपस्थित भएका हुन् ।

लमजुङ सेवा शक्ति तथा स्वतन्त्र नागरिक समाजको आयोजनामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाईजेशन पार्टी, जनादेश पार्टी र एक स्वतन्त्र उम्मेदवारले मात्रै सहभागिता जनाएका हुन् । कार्यक्रममा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेशनल रिपव्लीक नेपाल, श्रम सस्कृति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओबादी, नेपाल मजदुर किसान पार्टी लगायतका सातवटा राजनितिक दलका उम्मेदारले भने कार्यक्रममा सहभागिता नजनाएका हुन् ।

कार्यक्रममा अघिल्लो निर्वाचनबाट निर्वाचित र संगठनको आधारमा जनमत भएका भनिएका मुख्य प्रतिष्पर्धीहरुनै कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रम खल्लो भएको सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रममा सरकार सञ्चालनको अनुभव लिईसकेका काँग्रेस बाहेकका राजनितिक दलहरुको अनुपस्थितीले अपेक्षित प्रश्न गर्न नपाएको सहभागीहरुको गुनासो थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङका उम्मेदवार केबिन्द्रजंग गुरुङ, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे, मङ्गोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ र जनादेश पार्टीका मिलन बास्कोटा भने सहभागी भएका थिए ।

सहभागी उम्मेदवारहरुले आ–आफ्ना चुनावी एजेन्डा र विकाससम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए ।आसन्न प्रतिनिधी सभा निर्वाचनका उम्मेदवारहरुलाई नागरिकहरुका बीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले कार्यक्रम तय गरीएको आयोजकले जनाएको छ । कार्यक्रमका सहभागीहरुले उम्मेदवारका चुनावी एजेन्डा, विकासका लागि दीर्घकालीन योजनाका विषयमा प्रश्न गरेका थिए । नागरिकहरुको प्रश्नमा उम्मेदवारहरुले जिल्लाको विकास निर्माणसँगै नितिगत सुधार र आम नागरिकको अपेक्षा बमोजिमको व्यवस्थाका लागि आफ्नो उम्मेदारी भएको उल्लेख गरेका थिए ।

रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार सुशासन, पारदर्शिता र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत जिल्लाको समग्र विकास गर्ने उम्मेदारहरुको प्रतिवद्धता थियो ।

आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि कार्यक्रममा सहभागी बाहेक लमजङमा नेकपा एमालेबाट केन्द्रिय उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङ, नेकपाबाट हरीजङ तामाङ, रास्वपाबाट धर्म केसी, नेकपा माओबादीबाट रविन्द्र नखोला उम्मेदवार रहेका छन् । त्यसैगरी नेमकिपाबाट गुजेश्वरी प्रजापती मगजु, नेशनल रिपव्लिक नेपालबाट भरत गुरुङ र श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ उम्मेदवार रहेका छन् ।

मतदाता र उम्मेदवारबीचको दूरी घटाई योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पु¥याउने उद्देश्यले यस्तो प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरिएको नागरिक समाजका प्रतिनिधि हरि पौडेलको भनाई छ । “निर्वाचित भएर जाने प्रतिनिधिले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार जस्ता आधारभूत विषयमा प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा पहल गर्नुपर्छ भन्ने मतदाताको अपेक्षा स्पष्ट देखियो,” उनले बताए ।