स्याङ्जा ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकालले मतदातासँग १० संकल्पहरु सार्वजनिक गर्नुभएको छ । निर्वाचनलाई लक्षित गरेर उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त भएका छन् ।
देशभर जस्तै स्याङ्जा क्षेत्र नं.–१ का एक स्वतन्त्र सहित १२ जना उम्मेदवार पनि चुनावी प्रचारमा व्यस्त भएका हुन् । एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रचारमा व्यस्त भईरहँदा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकाल आकर्षक र प्रभावकारी चुनावी प्रचारमा केन्द्रित हुनुहुन्छ । अन्य दलका उम्मेदवारले चुनावी घोषणा–पत्रकै आधारमा चुनाव प्रचार गरिरहँदा ढकालले घोषण–पत्र, प्रतिबद्धता र दशबुँदे संकल्प (भरत भिजन) जारी गर्नुभएको छ ।
“रााजनीति कमाई होईन, जनसेवा हो” भन्ने मुल ध्येयका साथ उहाँले सार्वजनिक गर्नुभएको १० संकल्पहरुमा नितान्त जनताका जनजिवीकासंग सम्वन्धित रहेका छन् । उम्मेदवार ढकालले दशबुँदे संकल्पमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम कला÷पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई समाबेश गर्नुभएको छ ।
घोषणा–पत्र, प्रतिबद्धता र संकल्पलाई उहाँले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समयमा गर्न सकिने कामको सूचीमा राखेर प्रचारमा लागेको काँग्रेस स्याङ्जा क्षेत्र नं.–१ का क्षेत्रिय सभापति एवं प्रचार विभाग प्रमुख तुलसीराम रेग्मीले जनाकारी दिनुभयो ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष समेत रहनुभएका उम्मेदवार ढकालले पहिलो बुँदामा जिल्लाका नागरिकको स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि सहितको गौरवका आयोजना संचालन गर्ने परिकल्पना गर्नुभएको छ । दोस्रो बुँदामा उहाँले उत्पादन भनेर ‘एक वडा, एक उत्पादन’ प्रणालीको विकास मार्फत उद्यमशीलता र आयआर्जन वुद्धि गर्दै जाने संकल्प गर्नुभएको छ ।
संकल्पको तेस्रो बुँदामा शिक्षालाई समाबेश गर्नुभएका ढकालले अनिवार्य, व्यवहारिक, बजार उपयोगी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने प्रतिबद्धता गर्नुभएको छ । चौथो बुँदामा स्वास्थ्य क्षेत्रलाई राख्नुभएका अर्थविज्ञ ढकालले स्वास्थ्य बीमाको दायरा वृद्धि सहित सर्वसुलभ, गुणस्तरीय र अनिवार्य स्वास्थ्य सेवाको संकल्प गरेको प्रचार विभागका सचिवालय प्रमुख धु्रव खाँणले बताउनुभयो ।
बुँदाको पाँचौंमा पूर्वाधारतर्फ सबै नागरिकहरुको पहुँचमा स्वच्छ खानेपानी, नवीकरणीय उर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधारलाई जोड दिनुभएका उम्मेदवार ढकालले छैटौं बुँदामा बिजनेस इन्कुवेशन, प्रविधिको पहुँच, प्रतिस्पर्धी क्षमता र संस्थागत संरचनाहरुको विकास मार्फत युवा उद्यमशीलताको विकासलाई प्राथमिकता दिएको उहाँको सचिवालयले जनाएको छ ।
संकल्पको सातौं बुँदामा कला÷पर्यटनतर्फ स्थानीय कला, संस्कृति, सम्पदा, जैविक विविधता, प्राङ्गारिक उत्पादन प्रवद्र्धन र संरक्षण मार्फत पर्यटन क्षेत्रको विकास गर्ने संकल्प गरिएको छ भने कल्याण शिर्षकको आठौं बुँदामा महिला, वृद्धवृद्धा, पिछडिएका वर्ग, गरिब, विपन्न समुदाय लक्षित कार्यक्रम तथा राहतकोषको व्यवस्था सहितको संकल्प गरिएको उम्मेदवार ढकालले बताउनुभयो ।
जोखिम व्यवस्थापन शिर्षकमा बाँदर लगायतका जङ्गली जनावर तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण कार्यक्रम र जोखिमकोष स्थापना गर्ने संकल्प गर्नुभएका ढकालले संकल्पको दशौं बुँदामा तीनै तहका सरकार र गैरसरकारी निकायहरुको समन्वयमा आधारभूत सेवा कार्यक्रम र आर्थिक सार्वजनिक सुनुवाई गरिने गरी सुशासनको सुनिश्चिता गर्नुभएको छ ।











प्रतिक्रिया