काठमाडौं ।
नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ । बिहीबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै पार्टीका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमालाई सुदृढ गर्दै सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले हाल अलपत्र परेको स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकृत प्रणालीमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । जस्तोसुकै रोग लागे पनि नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था मिलाइने उनको भनाइ थियो ।
थापाले स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, खर्च नियन्त्रण, आवश्यक जनशक्ति उत्पादन तथा परिचालनमा ध्यान दिइने उल्लेख गरे । साथै ज्येष्ठ नागरिक र बालबालिकाले घरमै स्वास्थ्य सेवा पाउने व्यवस्था गर्ने योजना पनि कांग्रेसले अघि सारेको छ ।
उनका अनुसार उचित स्रोत व्यवस्थापन र तयारीका साथ नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको दाबी गरिएको छ ।











प्रतिक्रिया