काठमाडौंमा कलेज पढ्ने युवतीलाई पछ्याउँदै दुर्व्यवहार गर्ने युवक पक्राउ


काठमाडौं ।

काठमाडौंमा कलेज पढ्न जाने युवतीलाई लामो समयदेखि पछ्याउँदै आतंकित पार्ने र दुर्व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भई काठमाडौं–१४ सुनारगाउँ बस्दै आएका २५ वर्षीय गोपाल खड्का रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार साँझ कुपण्डोलबाट पक्राउ गरेको हो। कार्यालयका एसएसपी रामेश्वर कार्कीका अनुसार खड्काले कुलेश्वर–कालिमाटी क्षेत्रमा बिहान कलेज हिँड्ने युवतीलाई पछ्याउँदै अश्लील हर्कत गर्दै दुर्व्यवहार गर्ने गरेको उजुरी आएको थियो।

एक पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले कालिमाटी–कुलेश्वर क्षेत्रका सीसीक्यामेरा फुटेज संकलन गरेको थियो। फुटेजमा देखिएको भिडियोका आधारमा व्यक्तिको पहिचान गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहानको समयमा कलेज जाने युवतीलाई पछ्याउँदै उनले अशोभनीय व्यवहार गर्ने गरेको पाइएको छ। यसअघि पनि उपत्यकामा सार्वजनिक सवारीसाधनमा यस्तै प्रकृतिको दुर्व्यवहारका घटना सार्वजनिक भएका थिए।