प्रधानमन्त्री कार्कीद्वारा ७६औँ प्रजातन्त्र दिवसमा शुभकामना


काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले २००७ सालको क्रान्तिले नागरिक अधिकार प्राप्त गराए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचन सुरु भएको स्मरण गराइन् र आजको दिनलाई निर्वाचन दिवसका रुपमा पनि उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छिन्, “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ। भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।”

उनी आजको दिनलाई निर्वाचन दिवसका रुपमा सम्झँदै स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन आग्रह गरिन्। साथै, प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरिन्।