लिस्बनमा नेपाल–पोर्चुगल द्विपक्षीय परामर्शको पहिलो बैठक शुक्रबार लिस्बनमा बस्दै


लिस्बन ।

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा बस्दैछ। बैठकमा दुवै देशले साझा चासोका विषय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य, र दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नेछन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई गर्दैछन्। बैठकको अवसरमा उनले पोर्चुगलको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने र नवस्थापित नेपाली दूतावास उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

नेपाली प्रतिनिधिमण्डलले पोर्चुगलमा बसोबास गर्ने ४० हजारभन्दा बढी नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल गर्ने योजना बनाएको छ। प्रतिनिधिमण्डलमा वरिष्ठ अधिकारीहरूका साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल र दूतावासका अन्य कर्मचारीहरू रहेका छन्।

प्रतिनिधिमण्डल आगामी आइतबार स्वदेश फर्किने छ। नेपाल–पोर्चुगल परामर्श संयन्त्र सन् २०१८ मा स्थापना भएको हो।