१३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला चैत्रमा


नेपाली लोक कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित सक्रिय एभरेष्ट नेपाल कल्चरल ग्रुपले आगामी चैत्र ५ देखि १४ गतेसम्म १३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्ने भएको छ।


प्रारम्भिक रूपमा फागुन १५ देखि २४ गतेसम्मका लागि तय गरिएको कार्यक्रम प्रतिनिधिसभा निर्वाचनको मितिसँग जुधेपछि सारिएको ग्रुपका अध्यक्ष आरसी (रामचन्द्र) कोइरालाले जानकारी गराए। मिति परिवर्तनका कारण केही व्यवस्थापकीय चुनौती देखिए पनि विदेशी टोलीको सहभागिता सुनिश्चित भइसकेको उनले बताए। कोइरालाका अनुसार इस्टोनिया, पोल्याण्ड, जर्मनी, इजरायल, बंगलादेश, बोत्स्वाना, भारत, दक्षिण अफ्रिका, टर्की र ताइवान सहित १२ देखि १५ देशका ३ सय ५० भन्दा बढी कलाकार सहभागी हुनेछन्। मेला काठमाडौं, पोखरा, पाँचखाल र पनौतीलगायत स्थानमा आयोजना गरिनेछ। अध्यक्ष कोइरालाले लोक संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकार, निजी क्षेत्र र समाज सबैको सहकार्य आवश्यक रहेको बताए।

सन् १९९८ मा स्थापित संस्थाले दुई दशकभन्दा बढी समयदेखि नेपाली लोक नृत्य, संगीत र परम्परालाई विश्वसामु चिनाउने अभियान सञ्चालन गर्दै आएको छ। सन् २०१२ मा दक्षिण कोरियास्थित फेडरेशन अफ इन्टरनेशनल डान्स फेस्टिवलको सदस्य बनेपछि यसको अन्तर्राष्ट्रिय गतिविधि थप विस्तार भएको कोइराला बताउ“छन्। गत वर्ष नेपालमै सम्पन्न अन्तर्राष्ट्रिय मेलाको सफल व्यवस्थापनका लागि हालै दक्षिण कोरियाको छनानमा आयोजित विशेष समारोहमा संस्थासहित अध्यक्ष कोइरालालाई सम्मान गरिएको थियो।

कोइरालाका अनुसार नेपाली लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन संस्थाको मूल उद्देश्य हो। सन् २००२ देखि प्रत्येक दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय मेला आयोजना गर्दै आएको संस्थाले अहिलेसम्म विश्वका सयभन्दा बढी सांस्कृतिक उत्सवमा सहभागीता जनाइसकेको छ। ‘जहाँ–जहाँ नेपाली टोली पुगेको छ, त्यहाँ त्यहाँ नेपाली लोक नृत्य र संस्कृतिले गहिरो छाप छोडेको छ’ उनले भने।

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँको लोक परम्परा नै पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने उनको विश्वास छ। सांस्कृतिक आदान–प्रदानमार्फत नेपालको अन्तर्राष्ट्रिय पहिचान फराकिलो बनाउनु आगामी कार्यदिशा रहेको कोइराला बताउँछन्।