ललितपुर ।
पाटन संग्रहालयको सुन्दर ऐतिहासिक भण्डारखाल बगैँचामा आवतजावत गर्ने जेन–जी पुस्तादेखि विभिन्न उमेर समूहका कलाकारको भीड । पारिलो घाममा हातमा कलात्मक औजार लिएर बसेका कलाकारले क्रोध शिरोमणि प्राज्ञ कालु कुमालेको अनुहार हेरिरहेका थिए । माहोल रमाइलो थियो ।
कलाकारको हातमा कालु कुमालेको चित्र कोर्न एक्रेलिक, चारकोल, पानी रङ, शिशाकलम, रङ, कागज, क्यानभास र क्ले थियो । लगभग दुई सय कलाकारको मुहार प्राज्ञ कालु कुमालेको जस्तै हँसिलो देखिन्थ्यो । मानाँै कौतुहलताका साथ कालुको मुहार कोर्न मुस्कुराइरहेका थिए ।
कलाकार सबैजना आ–आफ्ना कला प्रदर्शन गरिरहेका थिए । हँसिलो अनुहारका ९३ वर्षीय क्रोधकला शिरोमणि कुमाले कुर्सीमा बसेर कलाकार हेर्दै थिए भने कलाकारले उहाँलाई हेर्दै थिए । सबैले उहाँको अनुहार हेरेर दुरुस्त तस्वीर उतार्दै थिए । शान्त स्वभावका मूर्तिकार कालुलाई हेर्दै कसैले लाइभ पोट्रेट (मूखाकृति) त कसैले उहाँको फोटोको प्रयोग गरी चित्र कोरिरहेका थिए । कालु भने खुशी मुद्रामा स्टेजमा बसिरहनुभएको थियो ।
मूर्तिकार कालुले जीवनभर गर्नुभएको कामको सम्मानस्वरूप आज सयौँ मानिसले उहाँलाई अगाडि राखेर चित्रमा उतार्दाको क्षण साँच्चै नै आनन्ददायी थियो ।
मूर्तिकार कालुको चित्र शिशाकलमले कोरिरहनुभएका अद्रिन खनालले भन्नुभयो – ‘घरमै बसेर कहिलेकाहीँ चित्र कोर्थे, यहाँ बसेर चित्र कोर्न पाउँदा निकै रमाइलो लाग्यो ।’ अर्का कलाकार अंकित महर्जन एक्रिलिक रंगको प्रयोग गरी क्यानभासमा मूर्तिकार कालुको चित्र कोर्दै भन्नुभयो– ‘नेपालभरका चित्रकारमाझ बसेर खुला ठाउँमा चित्र कोर्न पाउँदा निकै आनन्द लागेको छ । ’
एक्रिलिकको प्रयोग गरी कालुको चित्र कोर्न व्यस्त ५८ वर्षीय चन्द्रकुमार ताम्राकारले भन्नुभयो –‘मैले धेरै वर्ष भयो यो काम अघि बढाएको तर जीवित भगवान मूर्तिकार सामुन्ने राखेर उहाँको चित्र कोर्न पाउँदा त्यो मेरो लागि एकदमै खुशी महसुस भएको छ ।’
सानैदेखि फुर्सदको समयमा चित्र कोर्ने गर्नुभएका ४९ वर्षीय शुक्रबहादुर धिमालले पनि ऐतिहासिक क्षेत्रमा बसेर आफूले आफ्ना सिर्जना प्रदर्शन गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताउनुभयो ।
एक्रिलिकको प्रयोग गरी चित्र उजेम मानन्धर आफूले सोचेको भन्दा पनि निकै राम्रो चित्र कोर्न सफल भएको भन्दै प्रफुल्लित देखिनुहुन्थ्यो । एक्रिलिक माध्यमबाट चित्र कोर्दै गर्नुभएका सुशान्त मेयर कायस्थले यस्ता कार्यक्रमको निरन्तरताले कलाकारका साथै कलाको पनि सम्मान हुने धारणा राख्नुभयो । एमडी आसिकले सुन्दर प्राकृतिक मनमोहक दृश्यमुनि बसेर चित्र कोर्न पाउँदा कलाको सम्मान भएको महसुस भएको बताउनुभयो ।
कार्यक्रममा कुमालेका छोरा राकेश अवालेले आफ्ना बाबुले जीवनभर कसैसँग नबोली केवल मूर्ति कोर्ने साधनामा मात्र तल्लीन भएको जानकारी गराउँदै स्वदेशी तवरमा पनि बाबुको सम्मानका लागि थुप्रै काम हुनुपर्ने आशय व्यक्त गर्नुभयो ।
उक्त समारोहमा करिब ४ घण्टा चित्र कोर्ने प्रतियोगिता राखिएको थियो । प्रतियोगिता सकेपछि पुरस्कार र प्रशंसापत्र वितरण गरिएको थियो । कार्यक्रममा २५ जना वरिष्ठ र व्यावसायिक चित्रकारहरूले कार्यशालामा र १६० जना विद्यार्थी र युवा कलाकारहरूले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा १४ वर्षदेखि ७० वर्षमा चित्रकारहरू प्रतियोगीको रूपमा थिए ।
कार्यशालामा सहभागी चित्रकारहरूमा केके कर्माचार्य, राजेश मानन्धर, श्याम महर्जन, विभूषण ताम्राकार, मोहन शिवाकोटी, सपना पौडेल, लीलाधर केसी, मदन श्रेष्ठ, सुदर्शन शाक्य, सुमन श्रेष्ठलगायत ३५ चित्रकारहरूले प्रत्यक्ष चित्र कोरेका थिए ।
कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थी प्रतिस्पर्धी थिए ।
कार्यक्रमको समापन तथा प्रमाणपत्र विरतण समारोहमा काठमाडौं महागरपालिका स्वास्थ्य विभाग प्रमुख दीपक केसी, ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यक्ष, पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेश प्रसाद पौडेल, ललितपुर महानगरपालिका कला प्रवद्र्धन महाशाखाकी सविना महर्जन, नेपाल व्यावसायिक कलाकार संघका अध्यक्ष प्रेम श्रेष्ठ, नेपाल हेरिटेज सोसाइटीका धर्मराज शाक्य, तारा गाउँ संग्रहालयका निर्देशक रोशन मिश्र, ज्यापु समाज यलका अध्यक्ष सन्तमान महर्जन, क्रोधकला शिरोमणि फाउन्डेसनका अध्यक्ष राकेश अवाले, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, प्राज्ञ तथा वातावरणविद् मदनलाल श्रेष्ठ र वरिष्ठ चित्रकार गौरी श्रेष्ठ लगायतको उपस्थिति थियो ।
वि.सं १९९० जेठ २७ गते ललितपुरको पाटन ओकुबहालमा जन्मेका कालुका पुर्खाले बुङ्मतीस्थित पदमपाणि लोकेश्वर, पाटनको जट्टाधारी लोकेश्वर, चोभारको आनन्दी लोकेश्वर (आदिनाथ) पाटनका ज्येष्ठवर्ण महाविहार र बसुन्धरा देवीको भाँडाकुँडा बनाएका हुन् ।
यसैबाट प्रेरित भएर कालुले पाटन बालकुमारीमा अवस्थित चारहाते भैरव, शंखमूलमा राधा र रुक्मिणीको मूर्ति, बालकुमारीमा भैरव र गणेशको मूर्ति, सतुंगलको विष्णुदेवी, पाटनको बाराही धन्वन्तरी आदि सयौं क्रोधकला र अन्य मूर्ति बनाउनुभएको थियो ।











प्रतिक्रिया