आगामी प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने: गृहमन्त्री अर्याल


काठमाडौँ ।

गृहमन्त्री ओमप्रकाश अर्याल ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। बुधवार उनी निर्वाचन तयारीसम्बन्धी स्थलगत निरीक्षण तथा अनुगमनको लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्र पुगेका थिए।

सो अवसरमा उनले निर्वाचनको सकारात्मक वातावरण बनाउन निर्वाचन अधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलिने गलत, मिथ्या र दुष्प्रचारका सूचना प्रति सचेत रहनु पर्ने र आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सबै अधिकारी सक्रिय रहनु पर्छ।

” निरीक्षण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य, काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराई लगायतको टोली सहभागी रहेको थियो। टोलीले गोकर्णेश्वर मावि, श्री ओख्रेनी मावि सुन्दरीजलमा रहेको मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेका थिए।

साथै, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धापड्यामको निरीक्षण पनि गरिएको थियो। गोकर्णेश्वर नगरपालिका–४ मा रहेको निर्वाचन अधिकृतको कार्यालय समेत निरीक्षण गरिएको थियो। सो क्रममा निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका थिए कि क्षेत्रका सबै मतदान केन्द्रहरूको अनुगमन, मतदाता शिक्षा, मतदान सामग्रीको ढुवानी तयारी, र आवश्यक जनशक्तिको व्यवस्थापन पूरा भइसकेको छ। गृहमन्त्री अर्यालले टोलीसँग छलफल गर्दै निर्वाचनको सुरक्षा, तयारी र व्यवस्थापन पूर्णरूपमा सुनिश्चित गर्न सबै निकायलाई निर्देशन दिएका छन्। उनीहरुले निर्वाचन क्षेत्रका मतदान केन्द्रमा सुरक्षा र व्यवस्थापनको स्थलगत निरीक्षण गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न प्रतिवद्धता व्यक्त गरेका छन्।