पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा निर्वाचन अघि राष्ट्रिय समस्यामा समाधान आवश्यकताको जोड


काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह ले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी भिडियो सन्देशमा मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्।

उनले भने, “प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया भए पनि अहिलेको आम जनभावना यही छ कि राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनमा जानु उचित हुनेछ।” उनले निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारीपूर्वक अघि बढिनुपर्ने पनि जोड दिए।

पूर्वराजाले मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्ने अवस्था दुखद् भएको उल्लेख गर्दै, “मिलेर अघि बढ्दा मात्र देशलाई नयाँ गति दिन सकिन्छ।” उनले नागरिक सचेत र जागरुक नभएसम्म प्रजातन्त्र बलियो नहुने बताए।

त्यसैगरी, उनले वर्तमान अस्थिरता, अन्योल र देशको अस्तित्व संकटमा परेको अनुभव आम नेपालीले गरिरहेको बताए र विगतका आन्दोलन र राजनीतिक परिवर्तनले के हासिल गरायो भन्ने आत्मसमीक्षा गर्नुपर्ने औंल्याए।