टी २० विश्वकप : अस्ट्रेलिया समूह चरणबाटै बाहिरियो



काठमाडौं ।

भारत र श्रीलंकामा जारी टी २० विश्वकपमा अस्ट्रेलियाको यात्रा समूह चरणसम्मै सीमित रह्यो । जिम्बावे र श्रीलंकासँग हारेपछि अस्ट्रेलियाको सुपर एट सम्भावना झिनो रहेको थियो । तर, मंगलबार जिम्बावे र आयरल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएपछि अस्ट्रेलियाको त्यो झिनो आस पनि सकियो ।

समूह बी बाट लगातार तीन खेल जित्दै ६ अंक जोडेको श्रीलंका र ५ अंक जोडेको जिम्बाब्वे सुपर एटमा पुगेका छन् । अस्ट्रेलियाको तीन खेलमा २ अंक मात्रै रहेको छ । आयरल्यान्डलाई हराएको अस्ट्रेलियाले आफ्नो अन्तिम खेलमा ओमानसँग खेल्नेछ ।
गत अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी २० विश्वकपमा अस्ट्रेलिया सुपर एटबाट बाहिरिएको थियो । उक्त विश्वकपमा अस्ट्रेलिया सुपर एटअन्तर्गत् समूहमा तेस्रो भएको थियो । जसमा, अस्टे«लियाले बंगलादेशलाई हराएर राम्रो शुरुआत गरेपनि त्यसपछि अफगानिस्तान र भारतसँग हारेको थियो ।
सुपर एटमा पुग्ने टोलीहरू
–श्रीलंका, जिम्बाब्वे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड र भारत ।
–समूह ए बाट अर्को एक टोलीको टुंगो लाग्न बाँकी छ ।
समूह चरणबाट बाहिरिएका टोलीहरू
नेपाल, ओमान, आयरल्यान्ड, यूएई, अस्ट्रेलिया, इटाली, क्यानडा, अफगानिस्तान, स्कटल्यान्ड र नामिबिया ।
–समूह ए मा पाकिस्तान, नेदरल्यान्ड्स र अमेरिकामध्ये दुई टोली समूह चरणबाट बाहिरिने अवस्थामा छ ।