काठमाडौं ।
शेर्पा समुदायले आज विविध कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । नयाँ वर्षका रूपमा मनाइने यस पर्वमा गाउँघर, टोल तथा पानीका मुहानहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक तथा खाप्से जस्ता परिकार खाने र आपसमा शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्पराअनुसार चन्द्र पात्रोका आधारमा फागुन शुक्ल प्रतिपदादेखि नयाँ वर्ष सुरु हुने विश्वास गरिन्छ। स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले पर्वलाई अझ विशेष बनाएको छ।
गुम्बा दर्शन, धर्मगुरु तथा लामाबाट आशीर्वाद ग्रहण गर्ने र परिवारसँग मिलेर रमाइलो गर्ने परम्पराले यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा स्थापित गरेको छ। सरकारले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ।











प्रतिक्रिया