काठमाडौँ ।
नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेलाई ठूलो पारिवारिक वज्रपात परेको छ। उनका एक मात्र छोरा, ४१ वर्षीय इन्जिनियर निरीष काफ्लेको सवारी दुर्घटनामा परी असामयिक निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार, गत शुक्रबार हेटौँडा जाने क्रममा निरीषले चलाएको कार दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ।
पेशाले इन्जिनियर रहेका निरीष लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए। उनी करिब चार महिना अघि मात्र नेपाल फर्किएका थिए। नेपालमै बसेर केही गर्ने योजनाका साथ फर्किएका उनको अल्पायुमै भएको निधनले परिवार र आफन्त स्तब्ध बनेका छन्।
डा. काफ्लेका लागि यो पीडा झनै मर्माहत छ, किनकि उनले केही वर्ष अघि मात्र आफ्नी छोरीलाई पनि गुमाएका थिए। छोरीको असामयिक निधनको घाउ निको नहुँदै एक मात्र छोराको पनि मृत्यु भएपछि डा. काफ्लेको परिवार गहिरो शोकमा डुबेको छ।
नेपालमा मिर्गौला रोगको उपचार र सचेतनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका डा. काफ्ले र उनको परिवारप्रति यतिबेला विभिन्न क्षेत्रबाट समवेदना प्रकट भइरहेको छ।











प्रतिक्रिया