शीर्ष नेताविनाको निर्वाचन निरन्तरता कि क्रमभंगता ?

564
Shares

काठमाडौं ।

२०४८ सालदेखि शीर्ष नेताहरूको रोजाइमा पर्दै आएको काठमाडौं क्षेत्र नम्बर १ मा यसपटक शीर्ष नेताहरू नभए पनि कडा प्रतिस्पर्धा देखिएको छ । आसन्न प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना र नेकपा एमालेका मोहनराज रेग्मीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

त्रिपुरेश्वर, भोटेबहाल, थापाथली, माइतीघर, बबरमहल, बुद्धनगर, अनामनगर, बिजुलीबजार, थापागाउँ, पुतलीसडकपूर्व, डिल्लीबजार, भीमसेन गोला, पुरानो बानेश्वर मध्यबानेश्वर, नयाँबानेश्वर, मीनभवन, आलोकनगरलगायतका स्थानपर्ने काठमाडौं–१ ले महानगरका वडा नं. १०, ११, २९ र ३१ समेट्छ । यो निर्वाचन क्षेत्र संघीय शासनका तीनै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भएकाले राष्ट्रिय राजनीतिको ‘पल्स’ मापन हुने भूगोलका रूपमा पनि चिनिन्छ । यस क्षेत्रमा ४८ हजार ४८९ मतदाता छन् । तीमध्ये २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष छन् । २२ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको यस क्षेत्रमा यसपटक १३ स्वतन्त्रसहित २९ उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं–१ ले विगतमा राष्ट्रिय हैसियतका नेताहरूलाई उकासेको छ । २०४८ सालमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई ऐतिहासिक बनाएको थियो । जुन निर्वाचनमा मदन भण्डारी निर्वाचित हुनुभयो । २०५१ को उपनिर्वाचनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विजयी हुनुभएको थियो भने २०५६ मा पूर्वसञ्चारमन्त्री प्रदीप नेपाल निर्वाचित हुनुभयो ।

प्रजातन्त्र पुनस्र्थापनापछिका तीन निर्वाचनमा एमाले उम्मेदवार विजयी हुँदै आए पनि गणतन्त्रको स्थापनापछि भने एमालेले विजय यात्रा रोकिएको छ । २०६४ पछिका चारवटै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह विजयी हुँदै आउनुभएको थियो । यसपटक सिंह चुनावको रिङबाट आउट हुनुहुन्छ । आसन्न निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले विगतको विजय यात्रालाई निरन्तरता दिन्छन् कि अन्य दलले त्यसको क्रमभंगता गर्दछन् भन्ने निक्र्यौल भने फागुन २१ मा हुनेछ ।

चार दलबाहेक नेकपाकाबाट मेनुका भण्डारी ‘कृत’, नेमकिपाबाट रमिला ज्याख्व, मितेरी पार्टीबाट राजकुमार लिम्बू, जसपा नेपालबाट प्रकाश नायजू, प्रलोपाबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीबाट समीर लामा, माओवादीबाट धनराज शाही, उज्यालो नेपालबाट मंगललाल श्रेष्ठ, रामुपाबाट इन्द्रप्रसाद श्रेष्ठ, जनसेवाबाट अर्जुनबहादुर शाही, समावेशी समाजवादीबाट सुरेन्द्र पाण्डे र जनादेश पार्टीबाट कमल सुवेदी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारहरू असिमानसिंह बस्न्यात, कमल कोइराला, कुशल खत्री, कुमार शाही, किरण शाह, राजु भुजेल, रमेशप्रसाद जोशी, राजकुमार बजगाईं, शम्भु पोखरेल, शान्ति श्रेष्ठ, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी र संगीत बम पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावको अंक गणित
२०७९ को स्थानीय तहको निर्वाचनमा वडा १०, ११ र २९ मा नेपाली कांग्रेस र वडा ३१ मा एमाले विजयी भएको छ । वडाध्यक्षहरूको कुल मत जोड्दा कांग्रेस ९ हजार ८९५ र एमाले ९ हजार ५४१ मतसहित झिनो अन्तर छ । त्यस्तै, २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले ६ हजार ९९१, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ६१८, राप्रपाले ५ हजार ७२ र एमालेले ३ हजार ७९३ मत प्राप्त गरेका थिए ।

प्रदेशसभातर्फ कांग्रेस ७ हजार ९७९, राप्रपा ६ हजार ६४७ र एमालेको ४ हजार ५०७ मतमा रहेको थियो । प्रदेशका दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १४३ मतसहित निर्वाचित हुनुभयो । निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्र (राप्रपा) ले ७ हजार १८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ४ हजार ११५ मतसहित तेस्रो हुनुभएको थियो ।

सुकुम्बासी मत निर्णायक
काठमाडौं क्षेत्र नं. १ मा सुकुम्बासीको निर्णायक मत रहेको छ । काठमाडौं महानगरपालिका १०, ११, ३१ अन्तर्गत सिनामंगल क्षेत्रको वागमती किनारदेखि थापाथलीसम्म सुकुम्बासी फैलिएका छन् । जहाँ तीन हजारभन्दा बढी मतदाता रहेका छन् । सुकुम्बासी बस्तीबाट ७० प्रतिशतभन्दा बढी मत खस्दै आएको छ ।

अधिकांश मत प्रायः एउटै पार्टीलाई जाने गरेको सुकुम्बासी अगुवाहरूको भनाइ छ । जसले गर्दा उम्मेदवारहरूको केन्द्रीय मुद्दा नै सुकुम्बासी समस्या समाधान गर्ने रहँदै आएको छ ।