मतपत्र छपाइ सकियो, १३ गतेबाट एसईईको पालो

658
Shares

–एसईई प्रश्नपत्र २६ दिनमा सक्ने लक्ष्य
–प्रश्नपत्र छपाइ र ढुवानी केन्द्रबाटै

काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजो मंगलवारबाट मतपत्र सकेलगत्तै सीटीईभीटीको प्रश्नपत्र छपाइ सुरु गरेको छ । सीटीईभीटीको प्रश्नपत्रको छपाइ सकिएलगत्तै फागुन १३ गतेबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छाप्न सुरु गर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डले हिजो प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको छ । केन्द्रका महाप्रबन्धक यदुनाथ पौडेलले १२ गते एसईईका परीक्षा नियन्त्रकसहित टोली केन्द्रको सुरक्षण मुद्रणालयमा पुग्नेछ । महाप्रबन्धक पौडेलले सुरक्षा बन्दोबस्तीसहितको काम पूरा गरेपछि १३ गतेबाट प्रश्नपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो वर्ष अति व्यस्त भयौं, चिकित्सा शिक्षा आयोग र शिक्षक सेवा आयोगको प्रश्नपत्र छापाइ गरेलगत्तै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सामानुपातिक र प्रत्यक्षतर्फको मतपत्र छाप्यौं । केन्द्रले हिजो मंगलवारबाट सीटीईभीटीको प्रश्नपत्र छपाइ सुरु गरेको छ । ६ दिन सीटीईभीटीको प्रश्नपत्र छापेर सक्नेछ । लगत्तै एसईईको प्रश्नपत्र छाप्नेछौं ।’

यो वर्ष २०८१ सालको एसईई परीक्षाको तुलनामा करिब २० हजार बढी प्रश्नपत्र छाप्ने तयारी गरेको छ । ०८१ सालमा ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छापेको थियो । यो वर्ष ५ लाख २० हजार विद्यार्थीका लागि प्रश्नपत्र छाप्ने तयारी गरेको छ ।

एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले यो वर्षका लागि १२ गतेबाट प्रश्नपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । केन्द्रले यो वर्ष २६ दिनमा प्रश्नपत्र छपाइ गरी त्यहीँबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । करिब १ महिनामा प्रश्नपत्र छपाइ र ढुवानी सक्नेगरी तयारी भइरहेको केन्द्रका प्रबन्ध सञ्चालक पौडेललले जानकारी दिनुभयो ।

करिब ८० जना सुरक्षाकर्मीका टोलीले तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ । त्यसमा नेपाली सेना, नेपाल प्रहरीको र सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछन् । प्रबन्ध सञ्चालक पौडेलले कति सुरक्षाकर्मी परिचालन हुने भन्ने विषयमा १० गते निर्णय हुने जानकारी दिनुभयो ।

मन्त्रालय स्रोतका अनुसार प्रश्नपत्र छपाइ र ढुवानी गर्ने विषयमा सुरक्षा निकायसहितको बैठक बस्नेछ । प्रश्नपत्र छाप्ने सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रले मतपत्र छपाइ गर्न परिचालन भएको सुरक्षाटोली नै प्रश्नपत्र छाप्ने प्रयोग हुने जनाएको छ ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सुरक्षा व्यवस्थापन गृह मन्त्रालयले गरेको छ । प्रश्नपत्र छाप्न केन्द्रको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको टोली प्रश्नपत्र छपाइ र ढुवानी नभएसम्म मुद्रणालयमै बस्ने व्यवस्था मिलाएको छ ।

केन्द्रले कागज, मसी, मेसिन, औजार, उपकरण, छपाइ तथा प्याकिङ खामलगायत सबै सामान व्यवस्था गर्नेछ । पनिकाले सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुनेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी सुरु गर्नेछ ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छाप्ने योजना गरेको छ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र हुनेछ । साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । बोर्डले प्रायः सबै विषयमा दुई सेट प्रश्नपत्र छाप्ने तयारी गरेको छ ।

ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् । केन्द्रबाटै सबै जिल्लामा प्रश्नपत्र ढुवानी हुनेछ । सुरुमा दुर्गम त्यसपछि पहाड र अन्तिममा तराई तथा उपत्यकामा प्रश्नपत्र ढुवानी गर्ने तयारी भइरहेको जनाएको छ । यस वर्षको परीक्षा चैत १९ गतेबाट सुरु हुनेछ ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले वैशाख १४ बाट सुरु हुनेगरी तालिका सार्वजनिक गरेको हो । बोर्डको वार्षिक कार्यतालिकाअनुसार परीक्षा तालिका ल्याउन ढिलाइ भएको विषयमा नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेको थियो ।

सदस्यसचिव जंगबहादुर अर्यालको कारण तालिका प्रकाशित हुने ढिलाइ भएको थियो । सदस्यसचिव अर्यालले परीक्षा तालिका सार्वजनिक नगरी घुमघाममै व्यस्त रहेको समाचार प्रकाशित भएको थियो । देश दौडाहामा पुगेका सदस्यसचिव अर्याल समाचार प्रकाशित भएलगत्तै कार्यालय फर्केर हिजो मंगलवार बैठक डाक्नुभएको थियो ।

बैठकलगत्तै परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार परीक्षा २७ गते सकिनेछ । तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जनाएको छ । गत वर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको थियो ।