तारेख बुझेर सिधै भारतीय राजदूतसँग भेटे रवि, निर्वाचनको मुखमा ‘अर्थपूर्ण’ संवाद


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । लामिछाने काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर एकछिन अगाडि सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए ।

घाम ढल्किन लागेपछि होटल पुगेका उनले भारतीय राजदूत श्रीवास्तवसँग करिब एक घण्टा भेटवार्ता गरेको र साढे ५ बजेतिर बाहिरिएको बताइएको छ । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्थामा भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

यता लामिछानेमाथि अदालतमा सम्पत्ति शुद्धीकरण तथा संगठित ठगीसम्बन्धी मुद्दा विचाराधीन छ । उक्त मुद्दा फिर्ता लिन सरकारको प्रयास असफलजस्तै देखिएको सन्दर्भमा भारतीय राजदूतसँगको भेटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । तर निर्वाचनको मुखमा र कानुनी प्रक्रियाबीच भएको यो संवादले राजनीतिक तरंग उत्पन्न गरेको छ ।