काठमाडौंमा नक्कली धनीपुर्जा बनाएर जग्गा बेच्ने तीन जना पक्राउ


काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा रहेको २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्ने प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका छिरिङ शेर्पा (५८), फुरी शेर्पा (४८) र रामेछापका भुपाल सिं तामाङ (५८) रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार सुक्रबहादुर शेर्पालाई १५ माघमा, भुपाल र दावालाई २८ माघमा पक्राउ गरिएको हो। यस समूहले बेलायतमा बस्ने आङ्बुहाङको नाममा जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्ने योजना बनाएको पाइएको छ।

आङ्बुहाङको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता भएको बूढानीलकण्ठ पासिकोटको कित्ता नम्बर ४६ को २ रोपनी ६ आना जग्गा लामो समय खाली रहेको जानकारी पाएपछि समूहले निगरानी राखेको र नक्कली जग्गाधनी बनाएर बेच्ने योजना बनाएको एसएसपी थापाले बताए।