काठमाडौं ।
इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधरको सम्मानमा स्थापित प्रथम डीन स्व. कुलरत्न तुलाधर पदकलाई त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा दिने गरी छलफल अघि बढेको छ । प्रथम डिन स्व तुलाधरको पुण्यतिथीमा क्याम्पस परिसरमै एक समारोहको आयोजना गरी दिइदै आएको यो पुरस्कारलाई राष्ट्रिय स्तरमा लैजानुपर्ने आवश्यक्ता रहेको जिकिर गर्दै संस्थानका डिन प्राडा सुशील बहादुर बज्राचार्यले अहिले संस्थानभित्रै छलफल चलिरहेको र छिट्टै परिवारजनसँग पनि छलफल चलाइने जानकारी दिनुभयो । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान परिसरस्थित स्व. तुलाधरको पूर्ण कदको शालिकअगाडि मंगलबार आयोजित समारोहमा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

कार्यक्रममा स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउने प्रकाश ढकाल र स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने बिबेक निरौलालाई प्रदान गरिएको थियो । डीन प्राडा बज्राचार्यले जनही १० हजार रुपियाँ, स्वर्ण पदक र प्रमाणपत्रसहितको उक्त पुरस्कार ढकाल र निरौलालाई हस्तान्तरण गर्नुभयो । ढकालले २०७९ सालमा पुल्चोक क्याम्पसबाट कम्प्युटर इनि्जनियरिङमा स्नाकोत्तर गर्नुभएको हो भने निरौलाले २०७७ सालमा सोही क्याम्पसबाट कम्प्युटर इनि्जनियरिङमा स्नातक गर्नुभएको हो ।

बौद्ध अनुयायी भन्तेहरूले पञ्चशील र परित्राण पाठ गरेर शुरु भएको कार्यक्रममा उक्त संस्थानका सहायक डीन एवं पदक वितरण समितिका संयोजक सह–प्राडा विनोद कुमार भट्टराई, पूर्व डीन प्राध्यापक तिमिला यमीलगायतले इन्जिनियरिङ शिक्षामा स्व. तुलाधरको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा स्व. तुलाधरकी कान्छी छोरी चित्राशोभा तुलाधरले आफ्नो बुबाले बसालेको इनि्जनियरिङको जग बलियो बन्दै गएको देख्दा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले यो पदकले इनि्जनियरिङ क्षेत्रमा लाग्ने विद्यार्थीहरूलाई हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँको योगदानलाई कदर गर्दै हुलाक सेवा विभागले गत साउन १६ गते उहाँको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । सन् १९५५ मा बेलायतबाट ट्रपिकल आर्किटेक्टमा पोष्ट ग्राजुयट गर्नुभएका स्व. तुलाधर सन् १९७३ मा इनि्जनियरिङ अध्ययन संस्थानको प्रथम डीनमा नियुक्त हुनुभएको थियो । उहाँ चार वर्षसम्म डीनको भूमिका निर्वाह गर्नुभएको थियो । स्व. तुलाधरलाई सन् १९६२ मा बेलायतको प्रतिष्ठित पदक ‘अडर अर्डर अफ द ब्रिटिश एम्पाएर’, सन् १९६९ मा गोरखा दक्षिणबाहु प्रथम र सन् १९८३ मा त्रिशक्ति पट्ट द्वितिय पदक प्रदान गरिएको थियो।











प्रतिक्रिया