ओलीद्वारा झापा–५ का लागि ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक


झापा ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। पत्रमा मुख्य चार क्षेत्र– सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र र राष्ट्रियता, र पूर्वाधार–मा स्पष्ट कार्यक्रम अघि सारिएको छ।

प्रतिबद्धता पत्रमा ओलीले राजनीतिक दलहरूमा देखिएको दोहोरो चरित्र, स्टन्टबाजी र पपुलिस्ट गतिविधिले जनतामा भ्रम सिर्जना गरेको उल्लेख गर्दै यसबाट बच्ने उपायका रूपमा एमालेको योजनाबद्ध कार्यक्रम प्रस्तुत गरेका छन्।

सुशासनका लागि स्थिर राजनीतिक वातावरण र कार्यक्रमको आवश्यकता औँल्याइएको छ भने, भ्रष्ट्राचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाइएको छ। राष्ट्र र राष्ट्रियताको सवालमा भूपरिवेष्ठित देशका रूपमा कूटनीतिक र व्यापारिक सम्बन्ध बलियो पार्ने कार्यक्रम समावेश गरिएको छ।

पूर्वाधार क्षेत्रको विकासले आर्थिक वृद्धिमा योगदान पुर्‍याउने भन्दै अधुरा काम पूरा गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख गरिएको छ। नेकपा एमालेले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा मात्र नभई स्पष्ट कार्ययोजना पनि अघि सारेको छ।