कात्यानी मन्दिरमा पूजा गरी प्रवल थापाको घरदैलो अभियान सुरु


काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेरवार प्रवल थापाले साेमबारदेखि घरदैलो अभियान सुरु गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि नेपाली कांग्रेसका तर्फबाट प्रवल थापा उम्मेदवार रहेका छन् ।

थापाले आफ्नो क्षेत्रकाे प्रसिद्धि कात्यानी मन्दिरमा पूजा गर्नुका साथै आमाको हातबाट टीका र माला ग्रहण गरी घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

कात्यानी मन्दिरदेखि सुरु गरेको घरदैलो कार्यक्रम उनले काठमाडौं महानगरपालिका वडा नम्बर ११ अन्तर्गत भिमसेनगोला, मिलनचोक क्षेत्रका मतदाताहरुसँग भेटेर पहिलो दिनको घरदैलो कार्यक्रम समापन गरेका थिए ।

घरदैलो कार्यक्रममा उम्मेदवार थापासँगै बागमती प्रदेश सभा सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेलगायतका नेता कार्यकर्ताले साथ दिएका थिए ।

घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रदेश सदस्य लामिछानेले भने- ‘प्रवल थापा माटो बुझेको, राजनीति बुझेको, देशविदेश बुझेको र संघर्षले खारिएकाे व्यक्ति भएकाले उनले आफ्नो ठाउँलाई अझै उत्कृष्ट बनाउन सक्छन् ।’

घरदैलोका क्रममा भिमसेनगाेलामा भेट भएका स्थानीयहरुले पनि प्रवलसँग उत्साह र काम गर्ने हुटहुटी भएको तथा स्थानीयबासीसँग भिजेको उम्मेदवार भन्दै शुभकामनासहित सगुन दिएका थिए ।

‘देश अब युवाहरुकै हातमा छ, तपाईसँग हामीले धेरै आशा गरेका छौँ, रामोसँग काम गर्नु है,’ घरदैलोका क्रममा थापालाई आशिर्वाद दिँदै ज्येष्ठ नागरिकहरुले भने ।

मिलनचाेक बासुकीमार्गका अर्का स्थानीयले राम्रो काम गर्ने उम्मेदवारलाई जिलाउनुपर्ने बताएका छन् । ‘राम्रो काम गर्नेलाई जिताउनुपर्छ, बाबु हाम्रै छिमेकमा जन्मे हुर्केको युवा हुनुहुन्छ । भूकम्प, काेभिडका बेला तपाईंको समाजसेवा देखेका छाैं, भाेलि जितेर गएपछि पनि रामो काम गर्नुहुन्छ भन्ने विश्वास छ ।’ उनले बताए ।

घरदैलोका क्रममा थापाले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, सार्वजनिक खर्चको विवरण खुला डेटा प्रणालीमार्फत नागरिकका लागि उपलब्ध गराउने तथा नागरिक निगरानीलाई संस्थागत गर्ने, नमुना शहरी योजनाका अगाडि बढेको बताएका छन् ।

साथै सांसद विकास कोषलाई स्थायी संरचनामा रूपान्तरण गर्ने, युवालाई स्टार्टअपतर्फ आकर्षित गर्ने, स्थानीय तहमा उद्यमशीलता प्रवद्र्धन गर्ने, महिलालाई सीप विकासमार्फत आर्थिक सशक्तीकरण गर्ने तथा रोजगारी सिर्जनामा जोड दिने लगायतका एजेन्डामा प्रतिबद्धता जनाएका छन् । सेवा प्रवाह सुधार र प्रशासनिक पारदर्शितालाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए ।