काठमाडौं।
नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा पर्ने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक रहेका छन्।
इन्भेष्टमेन्ट मेगा बैंकलाई चेतावनी
राष्ट्र बैंकका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले निर्देशनको पूर्ण पालना नगरी कर्जासम्बन्धी कागजातमा ग्राहकको सहिछाप नगराई तथा सुरक्षणले नखाम्ने गरी कर्जा प्रवाह गरेको पाइएको छ। साथै एउटै प्रकृतिका कर्जामा २ प्रतिशत बिन्दुभन्दा बढी ब्याजदर अन्तर कायम गरिएको, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को बुँदा नं. ८.५ र १०.१२ को पूर्ण पालना नगरी त्रैमासिक अन्तिम महिनामा अल्पकालीन कर्जा प्रवाह गरी त्यसलाई असुलीमा प्रयोग गरेको तथ्यसमेत भेटिएको राष्ट्र बैंकले जनाएको छ।
उक्त कमजोरीका आधारमा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २(क) बमोजिम सचेत गराइएको जनाइएको छ।
ग्लोबल आइएमई बैंकका सीईओलाई सचेत
ग्लोबल आइएमई बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको पाइएको छ।
यस आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको जनाएको छ।
राष्ट्र बैंकको पछिल्लो कदमलाई बैंकिङ क्षेत्रमा नियामकीय कडाइको संकेतका रूपमा हेरिएको छ। वित्तीय अनुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनमा कमजोरी देखिएपछि केन्द्रीय बैंकले निगरानी थप कडा बनाएको विश्लेषण गरिएको छ।











प्रतिक्रिया