रौतहटमा महिलाको बीभत्स हत्या: श्रीमान् फरार, प्रहरीद्वारा खोजी तीव्र

2.16k
Shares

रौतहट। 

  रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलाको घाँटी रेटी बीभत्स हत्या भएको छ । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा गाउँमा २८ वर्षीया आरती देवी यादवको आइतबार बिहान उनकै श्रीमानले हत्या गरी फरार भएका हुन ।स्थानीय ४२ वर्षीय महन्थ राय यादवकी श्रीमती २८ बर्षिय आरती यादबलाई प्रहरीले आफ्नै घरको खाटमा घाटी काटेर हत्या गरेको अवस्थामा शव  फेला पारेको हो ।

 इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरी टोलीले बन्द ढोका खोलेर भित्र पस्दा आरती यादवको शव रगतले लतपतिएको अवस्थामा फेला पारेको जनाइएको छ । प्रहरीका अनुसार यादवको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको, घटनास्थलमा खाटमुनि र वरपर ठूलो मात्रामा रगत रहनुको साथै शव खाटमा उत्तानो परेको अवस्थामा रहेको थियो ।

 जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं  प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार, घटनाको प्रकृति हेर्दा हत्या भएको स्पष्ट देखिएको छ । घटनालगत्तै मृतकका श्रीमान् महन्थ राय यादव फरार रहेकाले प्रहरीले उनैमाथि मुख्य आशंका गरेको छ । प्रहरी नायब  उपरीक्षक बस्यालले फरार महन्थ राय यादवको खोजीका लागि प्रहरीले जिल्लाभरि र सीमा क्षेत्रमा समेत निगरानी बढाएको बताए  ।