दोलखाको उत्तरी लप्ची क्षेत्रमा हिमपात

94
Shares

दोलखा। 

चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखाको उत्तरी धार्मिक एवम् आध्यात्मिक क्षेत्र लप्चीमा शनिवार साँझ देखि हिमपात सुरु भएको छ । आइतवार पनि हिमपात भएको स्थानीयले बताएका छन् । 

दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ मा पर्ने लप्चीमा करिब ४६ घरधुरी रहेको छ । लप्ची गुम्बामा भने स्थानीय लामाहरु संगै विभिन्न देशका बौद्ध धर्माम्बलम्बिहरु ध्यान (मेरिटेसन) को लागि पुग्ने गरेका छन् ।  

चिसो मौसमका कारण लप्चीका स्थानीय बासिन्दा भने वडा नम्बर– १ मै पर्ने दोस्रो घर लुम्नाङमा झरेका छन् । हिमपातका कारण लप्ची गुम्बामा रहेका स्थानीय लामाहरुसंगै ध्यान (मेरिटेसन) को लागि पुगेका केही विदेशीहरु प्रभावित भएका छन् । 

झण्डै ३८ सय मिटर उँचाईमा रहेको लप्चीमा अवस्थित लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्र ८१० बर्ष अघि थुन्जीन एरुपाटाले निर्माण गरेको गुम्बाका प्रमुख थुन्डुप पाल्देन शेर्पाले बताए । लप्ची क्षेत्रमा ९३५ बर्ष अघि मिलारिपाले ध्यान गरेको विश्वास गरिन्छ । 

लप्ची भ्रमणमा रहेका फोटो पत्रकार जीवन लामाले शनिवार देखि यो क्षेत्रमा हिमपात भै रहेको बताए । हिमपातका कारण लप्ची गुम्बा क्षेत्रमा ध्यान (मेरिटेसन) गरिरहेको झण्डै ३३ जना विदेशी र केही स्थानीय लामाहरु प्रभावित भएको फोटो पत्रकार जीवन लामाले बताए । 

हिमपातका कारण लप्ची गुम्बामा ध्यान (मेरिटेसन) मा रहेका विदेशी बौद्ध धर्माम्बलम्बिहरु उत्साहित देखिएको स्थानीय बताउछन् । हिमपातका कारण चिसोले प्रभावित बनेपनि विदेशीहरु उत्साहित छन्– स्थानीयले भने ।

विगतमा लप्ची पुग्न विगु गाउँपालिका वडा नम्बर– १ लामाबगरबाट झण्डै दुईदिन पैदल हिड्नुपर्नेमा अहिले पाँच घण्टा पैदल हिँडेर पुगिने फोटो पत्रकार जीवन लामा बताउँछन् । लामाबागर लुम्नाङ क्षेत्रमा निर्माणाधिन विभिन्न हाईड्रोपावरहरुले त्यस क्षेत्रमा ११ सय मिटर सुरुङमार्ग सहित करिब २५ किलोमिटर सडक निर्माण गरेकोले अहिले थोरै पैदलयात्रामा नै लप्ची पुग्न सकिने फोटो पत्रकार लामाले बताए ।