काठमाडौं
वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाली टोलीको लागि भारत र श्रीलंकामा जारी टी २० विश्वकपको यात्रा समाप्त भएको छ ।
आईतबार मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा नेपालले १ सय ३४ रनको लक्ष्य दिएकोमा वेस्ट इन्डिजले मात्र १ विकेटको क्षतिमा प्राप्त गरेको हो । नेपाली बलरमा नन्दन यादवलाई सोही एक विकेटको सफलता प्राप्त भएको हो ।
नेपालले पहिले ब्याटिङ गरेको योसमेत दोस्रो खेल हो । यसअघि इटालीविरुद्ध पनि पहिलो ब्याटिङ गर्दा नेपालले संघर्ष गरेको थियो । जसमा, नेपालले १ सय २३ रन मात्रै बनायो र इटालीले सो खेल १० विकेटले जितेको थियो ।
यसपटक दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले १ सय ३३ रन जोडेको थियो । दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाएका थिए । अन्यमा पहिलो पटक यस विश्वकपमा खेलेका सोमपाल कामीले २६ रन बनाए । यसपछि भने कसैले उल्लेखनीय रन जोड्न सकेनन् ।
यो नेपालको प्रतियोगितामा लगातार तेस्रो हार थियो । योसँगैं नेपालको विश्वकप यात्रा पनि औपचारिकरुपमा सकिएको छ । यद्दपि नेपालले समूह सी मा अन्तिम प्रतिद्वन्द्वी स्कटल्यान्डसँग खेल्न बाँकी छ । यो खेल भोलि कोलकातामा हुनेछ । यस समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगेको छ । वेस्ट इन्डिजले खेलेको तीनै खेल जितेको छ । टोलीले इटालीसँग एक खेल खेल्न बाँकी छ ।











प्रतिक्रिया