लुटिएको सुनका विषयमा राष्ट्रिय वाणिज्य बैंकमा तनाब

पीडितद्वारा आन्दोलनको चेतावनी


काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा गत २०८२ साल भदौ २४ गते नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट लुटिएको धितोको सुन प्रकरणले बिहीबार तनाब सिर्जना गरेको छ । सो विषयलाई लिएर बैंकको सिंहदरबारस्थित केन्द्रीय कार्यालयमा सुनधनी पक्ष र बैंक प्रशासनबीच विवाद चर्किंदा केहीबेर धकेलाधकेलसमेत भएको थियो । दुई पक्षबीच झण्डै कुटाकुट नै हुने अवस्था पुगेको थियो ।

बिहीबार भएको छलफलका क्रममा करिब २ सय २६ जनाभन्दा बढी ग्राहकले धितोमा राखेको करिब १८ किलोभन्दा बढी सुनको क्षतिपूर्तिसम्बन्धी विषयमा असहमति जनाएपछि अवस्था तनावग्रस्त बनेको हो । बैंकले सुन लुटिएकै दिनको बजार मूल्यका आधारमा क्षतिपूर्ति दिने निर्णय गरेपछि सुनधनी पक्षले त्यसमा आपत्ति जनाउँदै हालको बजार मूल्यअनुसार रकम वा सुनकै रूपमा फिर्ता पाउनुपर्ने माग गरेपछि तनाब भएको थियो ।

सुनधनी पक्षकी प्रतिनिधि सरस्वती बस्नेतले बैंकप्रति विश्वास कायम राख्न सुनकै रूपमा फिर्ता दिनुपर्नेमा जोड दिँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

विवाद बढेपछि बैंकले सुरक्षा व्यवस्था कडा पार्दै बाहिरबाट कसैलाई प्रवेश गर्न नदिएको तथा पत्रकारलाई समेत प्रवेश निषेध गरिएको थियो । केहीबेरको तनाबपछि बैंक सुरक्षा गार्ड परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको बैंक प्रशासनले जनाएको छ ।
यसैबीच, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय बानेश्वर (१४२) ले माघ २९ मा मा जारी सूचनामार्फत सञ्चालक समितिको माघ २८ को २८१०औँ बैठकले सुन कर्जा राफसाफ गरी बाँकी रकम सम्बन्धित ग्राहकलाई फिर्ता गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकका अनुसार क्षति भएको सुनचाँदीबापत आवश्यक प्रमाणसहित दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरिनेछ । तमसुकमा उल्लिखित खुद तौलका आधारमा, घटना मितिको प्रतिग्राम रु १८,४०७.५ का दरले हिसाब मिलान गरिने तथा भदौ २५ गतेदेखि लाग्ने ब्याज र हर्जना ब्याज छुट गरिने निर्णय गरिएको छ ।