सिपाहीको गीत

282
Shares

म राई हुँ, कुमाईं हुँ, माझी हुँ म थारू हुँ
म डोम हुँ, चमार हुँ, क्षेत्री हुँ नेवार हुँ।
दुष्कर्मको विनाशक म–सज्जनको भाइ हुँ
माटो निम्ति बलि चढ्ने म नेपाली सिपाही हुँ।

म मष्ट हुँ, सिमेभूमे, चण्डी हुँ– कुमारी हुँ
म शान्तिको राग हुँ र साहसी खुकुरी हुँ।
पैंचो लिएको नुनलाई तिरिरहने खुनले
शरण र वचन खातिर–जल्ने म अग्निकुण्ड हुँ।

म वृक्ष हुँ–निकुञ्ज हुँ, बाघ हुँ–मजुर हुँ
हिमाल भै उभिएको–म जगत्‌को गजुर हुँ।
पहाडको छाती यो–अभेद्य म दुर्गा हुँ
म बख्खु हुँ, कछाड हुँ, चौबन्दी–टोपी–धोती हुँ।

चिया भै टुसाउँछु– रुद्राक्ष, स्याउ फल्दछु
लहलह अन्न भै सन्तान पाल्ने तराई हुँ।
म जनकको ज्ञान हुँ–सिद्धार्थको म ध्यान हुँ
स्वप्न हुँ म पृथ्वीको–सत्य हुँ, इमान हुँ।

म साक्मा सिलाम हुँ–त्रिशूल–षट्कोण हुँ
सारङ्गी–सहनाई हुँ–खैंजडी हुँ–ढोल हुँ।
म माघी हुँ, ल्होसार हुँ– छठ हुँ, तिहार हुँ
म सेल हुँ–ठेकुवा, ढिँडो हुँ–चटामरी हुँ।

म गुराँस–पारिजात हुँ–मखमली–चमेली हुँ
मुन्धुम हुँ– म वेद हुँ, त्रिपिटक–ग्रन्थ साहिब हुँ।

म प्राण हुँ– हिउँचुली, पहाड, मधेश अङ्ग हुन्
पुकार गर्छु अङ्ग यी स्वधर्ममै रहिरहून्।
आफ्नै भेष–संस्कृति–हावापानी श्रेष्ठ छ
बुझ्दछु म सत्य यो–“परधर्मो भयावह” ।