सर्लाही।
प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला सर्लाहीमा दल परिवर्तनको श्रृंखला देखिएको छ। जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय तहका नेताहरूले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्।
शनिबार जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेता मनिष मिश्र र केदारसिंह ठटौलासहितका नेता–कार्यकर्ताहरू औपचारिक रूपमा कांग्रेसमा समाहित भएका हुन्। उनीहरूलाई सर्लाही–४ मा चुनावी अभियानमा रहेका कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन कुमार थापा ले स्वागत गरेका थिए।
थापाले नवप्रवेशी नेताहरूलाई पार्टीको झण्डा ओढाएर स्वागत गर्दै सर्लाहीको विकास, सुशासन र स्थायित्वका लागि कांग्रेसलाई सशक्त बनाउने अभियानमा साथ दिन आह्वान गरे। उनले भने, “लोकतन्त्र र समावेशी विकासको मूलधार कांग्रेस हो, परिवर्तन चाहने सबै शक्तिहरू यहाँ समेटिन्छन्।”
चुनावी अभियानकै क्रममा सर्लाहीका विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको कांग्रेसले जनाएको छ। स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेताहरूको प्रवेशले सर्लाही–४ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको विश्लेषण गरिएको छ।
उता, जसपा नेपालका स्थानीय नेताहरूले भने पार्टी पुनर्संरचनामा लागेको र केही व्यक्तिको बहिर्गमनले संगठन कमजोर नहुने दाबी गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा दलगत समीकरण फेरिने संकेत देखिएको छ।











प्रतिक्रिया