कांग्रेस पनि वामपन्थी धारकै संवाहक : कमल थापा


काठमाडाैं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाली कांग्रेसलाई समेत वामपन्थी विचारधाराको संवाहक शक्ति भएको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको राष्ट्रिय राजनीतिमा लामो समयदेखि वामपन्थी विचार र शक्तिको वर्चस्व रहेको उल्लेख गर्नुभयो।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्रीको हैसियतमा बोल्दै राजनीतिक शास्त्रअनुसार नेपाली कांग्रेसलाई पनि ‘लेफ्ट ओरिएन्टेड’ विचारधाराअनुसार अघि बढेको दलका रूपमा आफूले लिएको बताउनुभयो। विगत ७० वर्षको राजनीतिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादसम्मका विचार हावी रहेको उहाँको दाबी थियो।

नेता थापाले नेपाली समाज वैदिक कालदेखिका मूल्य, मान्यता र परम्परामा आधारित रहे पनि राजनीतिक नेतृत्व भने साम्यवाद, माक्र्सवाद र समाजवादतर्फ उन्मुख भएको बताउनुभयो। यही विरोधाभासले देशमा बिडम्बनापूर्ण अवस्था सिर्जना भएको उहाँको जिकिर थियो।

उहाँले मुलुकलाई सही दिशामा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको आवश्यकता रहेको अडान समेत दोहोर्‍याउनुभयो।