झापा ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्न आग्रह गर्दै ३० बुँदे अपिल सार्वजनिक गरेको छ। पार्टीको झापा क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, शान्ति–सुरक्षाको प्रत्याभूति, आर्थिक सुधार तथा अधुरा विकास आयोजना सम्पन्न गर्ने प्रतिबद्धता समेटिएको छ।
‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको अपिलमा देशमा देखिएको त्रासको वातावरण अन्त्य गर्दै नागरिकको मनोबल उच्च बनाउन ओलीलाई विजयी गराउनुपर्ने उल्लेख छ। झापा ५ मा सुरु भएका विकास योजनाहरू सम्पन्न गर्न, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न पनि ओलीको नेतृत्व आवश्यक रहेको दाबी गरिएको छ।
एमालेले निर्माणाधीन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडक सम्पन्न गर्न, दमक–रवि–चिसापानी सडक निर्माण अघि बढाउन तथा नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई टुंगोमा पुर्याउन ओलीलाई मत दिन अपिल गरेको छ। दमक, गौरादह र गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने, भूमिहीन र सुकुम्वासीका समस्या समाधान गर्ने तथा स्थानीय अस्पतालहरूमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि अपिलमा समेटिएको छ।
एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार मतदातालाई ओलीले गरेका कामबारे जानकारी गराउन अपिल जारी गरिएको हो। उनका अनुसार उक्त अपिल प्रत्येक वडामा ठूलो संख्यामा वितरण गरिनेछ।












प्रतिक्रिया