मुगुको मतदान केन्द्रमा मतदाता छैन, गाउँ पूर्णरूपेण खाली


मुगु ।

मुगु जिल्लाको कार्मारोङ गाउँपालिका अन्तर्गत मुगु गाउँमा फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, तर मतदान केन्द्रमा मतदाता भेट्न मुस्किल देखिएको छ। गाउँमा जाडो छँदै बेंशी झरेपछि अधिकांश गाउँले गाउँ छोडेर बाहिर गएका छन्।

गाउँमा अहिले केवल तीन जना गुम्बा पुजारी मात्र रहेका छन्। गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार, गर्मी बढेपछि मात्र स्थानीयहरूले चैतको पहिलो साता गाउँ फर्कने सम्भावना छ।

समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा अबस्थित र तिब्बत सीमासँग जोडिएको मुगु गाउँ अहिले मानव बिहिन बनेको छ। गाउँमा करिब १२० घरधुरी र ३ सय बढी मतदाता रहेका भए पनि मतदान केन्द्रमा अहिले उनीहरू अनुपस्थित छन्।

सिमा क्षेत्रमा रहेको प्रहरी चौकी पनि बन्द छ। त्यहाँ कार्यरत प्रहरी जवानहरू गत मंसिरमै जाडो कटाउन पुलु प्रहरी चौकी र जिल्ला सदरमुकाम गमगढी सरिसकेका छन्। यसैगरी, स्कुल, स्वास्थ्य चौकी, वडा कार्यालय र अन्य विकास निर्माण कामहरू पनि बन्द छन्।

गाउँ पूर्णरूपेण खाली भएकाले निर्वाचनमा कसले मतदान गर्ने भन्ने विषयमा अन्योल रहेको छ।