कर्तव्यनिष्ठा, इतिहासप्रति गौरव र शान्तिपूर्ण निर्वाचनमा सहयोग गर्न निर्देशन

सेना दिवसमा प्रधान सेनापतिको कडा सन्देश: इतिहास सम्झ, कर्तव्य निभाऊ, निर्वाचन शान्तिपूर्ण बनाऊ


काठमाडौं।

महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सकल दर्जालाई सम्बोधन गर्दै राष्ट्रिय एकता, कर्तव्यनिष्ठा र संस्थागत गौरवलाई अझ सुदृढ बनाउँदै अघि बढ्न आह्वान गरेका छन्। रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले बहालवाला तथा अवकाशप्राप्त सैनिक, नेपाली सेनामा कार्यरत निजामती कर्मचारी र उनीहरूको परिवारजनलाई शुभकामना व्यक्त गरेका थिए।

सम्बोधनका क्रममा उनले नेपालको गौरवपूर्ण इतिहास, परम्परा र संस्कृतिलाई आत्मसात् गर्दै सैनिक तालिममा राष्ट्रको ऐतिहासिक पृष्ठभूमि समेट्न निर्देशन दिएका छन्। सैनिकहरू केवल सुरक्षाकर्मी मात्र नभई राष्ट्रको पहिचान र इतिहासका संवाहक पनि भएको उल्लेख गर्दै उनले तालिम प्रणालीलाई अझ प्रभावकारी र युगानुकूल बनाउन जोड दिएका थिए। प्रधान सेनापति सिग्देलले विभिन्न क्षेत्रमा नेपाली सेनाले निर्वाह गर्दै आएको जिम्मेवारीलाई थप सुदृढ र अनुशासित ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

विपद् व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण तथा अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिए। त्यस्तै, आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले आवश्यक समन्वय र तयारीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सुरक्षात्मक भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सबै सैनिकलाई अनुशासन, समर्पण र तटस्थताको उच्च मानक कायम राख्न आग्रह गरेका छन्।

कार्यक्रमअघि प्रधान सेनापतिले कर्तव्यपालनको क्रममा जीवन उत्सर्ग गरेका वीर सैनिकहरूको सम्मानमा छाउनीस्थित वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा अवस्थित शहीद स्मारकमा श्रद्धा सुमन अर्पण गरेका थिए। साथै, वीरगति प्राप्त सैनिकका परिवारजनलाई सम्मानसमेत गरिएको जनाइएको छ।

नेपाली सेनाको २६३ वर्षे गौरवशाली इतिहास स्मरण गर्दै प्रधान सेनापतिले संगठनलाई आधुनिक, सक्षम र जनउत्तरदायी संस्थाका रूपमा विकास गर्दै लैजान प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र अखण्डताको संरक्षणमा नेपाली सेना सदैव दृढ र सजग रहनेछ। सेना दिवसको अवसरमा गरिएको यो सम्बोधनले संगठनभित्र कर्तव्यनिष्ठा, व्यावसायिकता र राष्ट्रिय जिम्मेवारीप्रति थप प्रतिबद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।