नेपाल उद्योग परिसंघको १० वर्षमा १०० अर्ब डलर अर्थतन्त्र बनाउने संकल्प


काठमाडौं ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे ले आगामी एक दशकभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्‍याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको छ।

हाल करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र कानुनी अवरोध हटाउनु अनिवार्य रहेको उहाँले बताउनुभयो। परिसंघद्वारा आयोजित ‘स्वदेशी नेपालः मिट एण्ड ग्रेट, २०२६’ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले लगानीमैत्री वातावरण निर्माण र अर्थतन्त्रसँग सम्बन्धित कानुन सुधारमा सरकारको ध्यानाकर्षण गराउनुभयो।

परिसंघले कुन कानुन संशोधन वा खारेज गर्नुपर्ने भन्ने विषयमा दफासहितको अध्ययन सुझाव सरकारलाई बुझाइसकेको जानकारी दिँदै उहाँले केही कानुनमा सुधार भइसकेको र अन्यमा पनि क्रमशः सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

स्वदेशी उद्योग प्रवर्द्धनका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्क प्रयोगलाई जोड दिँदै उहाँले सरकारी तथा सार्वजनिक निकाय, सेना र प्रहरीमार्फत स्वदेशी वस्तु तथा सेवाको अनिवार्य प्रयोगले औद्योगिक उत्पादनमा ठूलो टेवा पुग्ने बताउनुभयो।

आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्र र सरकारबीच एकीकृत प्रयास आवश्यक रहेको उहाँको भनाइ छ। परिसंघले आगामी १० वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने स्पष्ट कार्ययोजना सहित विस्तृत अध्ययन गरिरहेको समेत उहाँले जानकारी दिनुभयो।