म्याग्दी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन्। भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवती प्रहरी चौकीलाई दान गरेका हुन्। सरकारी दररेटअनुसार करिब रु १४ लाख मूल्य कायम भएको उक्त जग्गाको स्थानीय बजार मूल्य अझ बढी पर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
जग्गादाता गिरी दम्पतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मानसमेत गरेको छ। जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट तथा योजना माग गरिने प्रहरीको भनाइ छ। हाल राखु भगवती प्रहरी चौकी भाडाको घरबाट सञ्चालन हुँदै आएको छ।
जिल्लाका इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारलगायतका प्रहरी इकाई अझै आफ्नै भवनविहीन छन्। हालै सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ भने बेनीस्थित जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीका आफ्नै भवन रहेका छन्।











प्रतिक्रिया