सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ


काठमाडौ ।

सुनसरीको सीमावर्ती क्षेत्र जमुवाबाट सशस्त्र प्रहरी बलले पेस्तोल र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवान रहेका छन्।

शुक्रबार साँझ नेपालतर्फ आउँदै गरेका उनलाई इटालीमा बनेको पेस्तोल, सोको तीन राउन्ड गोली, ब्राउनसुगर १०० ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३८० सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए।

पक्राउ परेका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैबीच, निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति मनिष थापाले इलाम, झापा, मोरङ र सुनसरीका सीमानाकामा चेकजाँच कडाइ गर्न निर्देशन दिएका छन्। सीमाबाट हुने अवैध गतिविधि रोक्न मातहतका युनिटलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिइएको सहप्रवक्ता थापाले बताएका छन्।