पश्चिमी वायुको प्रभाव: उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

तराई भूभागमा भने मुख्यतया मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ।

साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।