‘तेरे प्यार में’ म्युजिक भिडिओको भव्य सार्वजनिक कार्यक्रम


काठमाडौं

प्रेम र सङ्गीतको विशेष अवसर भ्यालेन्टाइन डे (फागुन २ / फेब्रुअरी १४) का दिन नयाँ म्युजिक भिडिओ ‘तेरे प्यार में’ को भव्य सार्वजनिक कार्यक्रम आयोजना हुने भएको छ।

रिड्स हस्पिटालिटी र समर हलिडे फिल्म्स, इन्डिया को सहकार्यमा हुने उक्त एक्सक्लुसिभ म्युजिक भिडिओ लन्च कार्यक्रम काठमाडौंस्थित क्लब नोभा, नेपालमा राति ९ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा लोकप्रिय गायिका वर्षा कर्माचार्य र गायक सुजन बि.के. को सशक्त स्वर सुन्न पाइनेछ भने म्युजिक भिडिओमा अनुज र दिलजोत्त मुख्य भूमिकामा देखिनेछन्। कार्यक्रममा डी जेनेसिस लाइभ ब्याण्डको विशेष प्रस्तुति, ग्रान्ड म्युजिक भिडिओ प्रिमियर तथा मनोरञ्जनसँगै नेटवर्किङको अवसर समेत रहने आयोजकले जनाएको छ।

सङ्गीत, सिर्जना र सहकार्यलाई एकै थलोमा उत्सवका रूपमा मनाउने लक्ष्यसहित आयोजना गरिएको यो कार्यक्रमले भ्यालेन्टाइन डेमा मनोरञ्जनप्रेमी दर्शकलाई विशेष आकर्षण दिने अपेक्षा गरिएको छ।

नयाँ स्वाद र रोमान्टिक माहोलसहित प्रस्तुत हुने ‘तेरे प्यार में’ ले नेपाली तथा अन्तर्राष्ट्रिय सङ्गीत पारखीबीच उत्साह थप्ने विश्वास आयोजकको छ। कार्यक्रममा सहभागी भई सङ्गीत र प्रेमको सुन्दर उत्सवमा रमाउन आयोजकले सबैलाई हार्दिक निमन्त्रणा दिएको छ।