त्रिभुवन विमानस्थल क्षेत्र ‘निषेधित’: जुलुस–प्रदर्शन गरे कारबाही हुने प्रशासनको चेतावनी


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अतिसंवेदनशील क्षेत्रका रूपमा चिनिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास जुलुस, प्रदर्शन, हड्ताल तथा भेला जस्ता कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको जनाएको छ।

प्रशासनले बिहीबार सूचना जारी गर्दै विमानस्थलको सुरक्षा, उडान सञ्चालन तथा सार्वजनिक शान्ति–व्यवस्था प्रभावित हुन सक्ने भन्दै यस्ता गतिविधि नगर्न सर्वसाधारण तथा विभिन्न संघ–संस्थालाई आग्रह गरेको हो।

विमानस्थल देशको एकमात्र अन्तरराष्ट्रिय हवाई प्रवेशद्वार भएकाले यहाँ हुने कुनै पनि अवरोधले आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा प्रत्यक्ष असर पर्ने प्रशासनको भनाइ छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विमानस्थल परिसर र आसपासका क्षेत्रमा भीडभाडजन्य कार्यक्रम गर्न नपाइने स्पष्ट पारिएको छ।

सूचनाको उल्लंघन गर्दै जुलुस, धर्ना वा प्रदर्शन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। हाल पछिल्ला दिनमा विभिन्न समूहले आन्दोलनका कार्यक्रम घोषणा गरिरहेका बेला प्रशासनले विमानस्थल क्षेत्रलाई विशेष निगरानीमा राखेको जनाएको छ।