३५ वर्षपछि बंगलादेशमा सत्ता परिवर्तन : बीएनपीलाई स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित


काठमाडौं।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको बाटो सुनिश्चित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।

दुई क्षेत्रमा उम्मेदवारी दिएका रहमानले दुवै क्षेत्रमा विजय हासिल गरेका छन्। १७ वर्षसम्म बेलायतमा निर्वासित जीवन बिताएका रहमान गत वर्ष डिसेम्बरमा स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि उनले पार्टी पुनर्गठन र चुनावी अभियानलाई तीव्रता दिएका थिए।

यसअघि सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता सम्हाल्दै आएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन गरेकी थिइन् भने पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव भएको हो। निर्वाचन परिणामअनुसार जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले ४५ सिट मात्र जितेको छ।

जमात प्रमुख सिफुकर रहमानले ढाका–१५ बाट विजय हासिल गरेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तीन सिट जितेका छन्। यो निर्वाचनले करिब ३५ वर्षपछि बंगलादेशलाई नयाँ प्रधानमन्त्री दिलाउँदै सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याएको विश्लेषकहरूले बताएका छन्।

अब बीएनपी नेतृत्वको नयाँ सरकारबाट राजनीतिक स्थायित्व, आर्थिक सुधार र क्षेत्रीय सम्बन्ध सन्तुलनमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा व्यापक चासो देखिएको छ।