काठमाडौँ ।
सरकारले उच्च प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक मूल्याङ्कनअनुसार २७ आयोजनामध्ये ४ वटा मात्र सम्पन्न भएका छन् भने ९ आयोजनामा यस वर्ष बजेट नै विनियोजन गरिएको छैन।
विनियोजन भएका १४ आयोजनाका लागि छुट्याइएको ६७ अर्ब ८६ करोड रुपैयाँमध्ये पुस मसान्तसम्म जम्मा १५.४९ प्रतिशत (१० अर्ब ३९ करोड) मात्र खर्च भएको छ। सडक, जलविद्युत्, सिँचाइ र विमानस्थलजस्ता ठूला परियोजनामा लागत बढ्दै जाँदा प्रगति भने अपेक्षाभन्दा निकै कम देखिएको छ।
पुष्पलाल (मध्य पहाडी) लोकमार्ग, हुलाकी राजमार्ग र काठमाडौँ–तराई/मधेस द्रुतमार्ग जस्ता राष्ट्रिय गौरवका सडक आयोजनामा वर्षौंदेखि काम जारी रहे पनि निर्धारित समयमै सम्पन्न हुनेमा शंका बढेको छ। त्यस्तै बुढीगण्डकी जलविद्युत् आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना समेत अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्।
लागत वृद्धि, कमजोर पूर्वतयारी, बजेट अभाव र खर्च क्षमताको कमीले राष्ट्रिय गौरवका आयोजना अलपत्र पर्दै गएका छन्। यसले सरकारको विकास प्राथमिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।











प्रतिक्रिया