-रिङरोडदेखि निर्मल निवाससम्म सुरक्षामा कडाइ
– विमानस्थल र आसपास क्षेत्रमा एक महिना निषेधाज्ञा
– विमानस्थल बाहिरदेखि निर्मल निवाससम्म स्वागत गर्ने राजावादीको तयारी
काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउन लाग्दा जिल्ला प्रशासन कार्यालयले विमानस्थलभित्र निषेधाज्ञा जारी गरेको छ । चार महिना लामो झापा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र आज मध्याह्न काठमाडौं आउन लाग्नुभएको हो । उहाँ आज दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानबाट काठमाडांै आउने कार्यक्रम छ ।
ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजावादीको घुइँचो लाग्ने भएपछि सरकारले निर्वाचन आचारसंहिता देखाउँदै निषेधाज्ञा जारी गरेको हो । केही सातादेखि पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न आग्रह गर्दै प्रचार गरिएको थियो । सामाजिक सञ्जालमा पनि विमानस्थल आउन आग्रह गर्दै व्यापक प्रचार गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो । विमानस्थलमा राजावादी र दुर्गा प्रसाईंको समूहले हिन्दुराज्य राजतन्त्रको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको थियो । निषेधाज्ञा जारी भएसँगै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विमानस्थल क्षेत्र वरपर र रिङरोडदेखि निर्मलनिवाससम्मको सुरक्षा व्यवसथा कडा पारिएको छ । राजावादीहरूले विभिन्न स्थानमा भेला भएर पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम राखेका छन् ।
निषेधाज्ञा भए पनि पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न जाने कार्यक्रम यथावत रहेको जिकिर गर्दै एक –राजावादीले नेपाल समाचारपत्रसँग भने– ‘विमानस्थलमा नदिएर के भयो ? विमानस्थल बाहिरदेखि निर्मल निवाससम्म हजारांै नागरिक भेला हुनेछन् ।’
पूर्वरानी कोमल, बुहारी हिमानी, छोरा पारसलगायत सबै परिवार झापाबाट काठमाडौं फर्किसकेका छन् । आज शुक्रवार पूर्वराजा र उहाँको निजी सुरक्षाकर्मीमात्र फर्कने कार्यक्रम छ । पूर्वराजाको सवारीसाधनसहितको कन्भ्वयटोली भोलि शनिवार फर्कने कार्यक्रम छ । पूर्वरानी कोमलको फागुन ७ गते ७५ आंै जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौैैैैैैैैैैैैं आउन लाग्नुभएको हो ।
उता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको छ । विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रशानसनले सरकारका सम्बद्ध निकायहरू निर्वाचनतर्फ परिचालित भएको स्थितिमा विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ¥यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ– ‘निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा
यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आसन्न निर्वाचन र फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् सांस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, ¥याली, भेलाजम्मा हुनेजस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउनेजस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ ।’
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र सो आसपासको क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ ।
जिप्रकाले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ । ती क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी रहने भनिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह एकवर्षअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं फर्कंदा स्वागतमा विमास्थलमा ठूलो भीड लागेको थियो । त्यस समयको भीडले काठमाडौंमा यातायात नै प्रभावित भएको थियो । धार्मिक भ्रमणको नाममा देश दौडाहामा लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र उहाँ माघ ११ गते आइतबार झापाबाट सडकमार्ग हुँदै जनकपुर जानुभएको थियो । १२ गते सोमबार जानकी र राममन्दिरमा पूजा अर्चना गर्न १४ गते फेरि झापा पुग्नुभएको थियो ।
नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेन–जी पुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका छन् । सोही मेसोमा पूर्वराजा झापा बसेर आज फागुन १ मा फर्किन लाग्नुभएको चर्चा चलेको छ ।











प्रतिक्रिया