नेपाली पौडी खेलको आकाशमा उदाउँदै गरेको एउटा चम्किलो नाम हो, इर्भिन श्रेष्ठ । उनको यात्रा केवल व्यक्तिगत सफलताको फेहरिस्त मात्र होइन, यो त दृढ इच्छाशक्ति र निरन्तर साधनाबाट फक्रिएको प्रतिफल हो । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीबाट सुरु भएको उनको यो यात्राले आज विश्वका प्रतिष्ठित मञ्चहरूमा नेपालको उपस्थिति दर्ज गराउन सफल भएको छ । इर्भिन केवल एक उत्कृष्ट स्विमर मात्र नभई सन् २०२८ को लस एन्जलस ओलिम्पिकका लागि नेपालको एउटा बलियो आशा र भरोसाका प्रतीकसमेत हुन् । जब उनी पानीको नीलो सतहमा डुबुल्की मार्छन्, तब त्यहाँ केवल एक प्रतिस्पर्धी मात्र हुँदैन, एउटा सिंगो राष्ट्रको गौरव र सपनाले पनि गति लिन थाल्छ ।
इर्भिनको पौडीसँगको नाता कुनै संयोग मात्र थिएन । आठ वर्षको कलिलो उमेरमा सातदोबाटोमा आयोजित उमेर समूह प्रतियोगितामा जितेको एउटा कांस्य पदकले नै उनलाई पौडीको संसारमा केही नयाँ गर्ने भोक जगाएको थियो । १० वर्षको उमेरमा राष्ट्रिय स्तरमा तीनवटा स्वर्ण पदक जितेर आफ्नो उदयको संकेत दिएका इर्भिनका लागि जितको मुकाम भेटाउन सधैँ सहज भने रहेन । नेपालगन्जमा भएको आठौँ बृहत् राष्ट्रिय खेलकुदमा ११ वर्षका इर्भिनले आफूभन्दा पाका र अनुभवी खेलाडीहरूसँग पौडिँदा कुनै पदक त जितेनन्, तर त्यही असफलताले उनलाई हार नमानी अघि बढ्ने ऊर्जा र संघर्षको पाठ सिकायो । समयसँगै उनको आत्मविश्वास खारिँदै गयो र पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदसम्म आइपुग्दा उनले तीनवटा कांस्य र एउटा रजत पदक हात पार्दै आफूलाई एक सशक्त प्रतिस्पर्धीका रूपमा स्थापित गरे ।
निरन्तर पौडी पोखरीमा ‘डाइभ’ हान्न व्यस्त इर्भिनका लागि सन् २०२५ जीवनको ‘टर्निङ पोइन्ट’ सावित भयो । २०२५ को जुनमा दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसिपमा उनले नेपालको शीर्ष पौडीवाजको उपाधि जिते भने डिसेम्बरमा आयोजित एनएसए गेम्समा २०० मिटर फ्रिस्टाइल स्पर्धामा पानीको छाललाई चिर्दै १ः५६.२७ को समयमा दूरी पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । यो समय केवल एउटा तथ्याङ्क मात्र थिएन, यो त इर्भिनको वर्षौंको मेहनत, प्रशिक्षकहरूको मार्गदर्शन र आमाबुबा रबिन श्रेष्ठ तथा एडिना मुल्मी श्रेष्ठको अटुट साथको प्रतिफल थियो ।
वास्तवमा यस्तो सफलताको पर्दा पछाडि एउटा कठोर दिनचर्या लुकेको छ । सातदोबाटोको पोखरीमा विगत ११ वर्षदेखि दिग्गज प्रशिक्षक ओङदेन लामा र मेघ डेनियल लामाको रेखदेखमा उनले ढुङ्गाले मूर्तिको रूप पाए सरी आकार पाइरहेका छन् । हप्तामा १२ वटा कडा प्रशिक्षण सत्रहरू पूरा गर्नु उनको नियमित दैनिकी हो । एकातिर पानीमा तैरिनु र अर्कोतिर शैक्षिक पाठ्यक्रम, यी दुई बीचको सन्तुलन मिलाउनु कुनै फलामको च्युरा चपाउनुभन्दा कम छैन । तर, इर्भिन एक यस्ता ‘स्कलर–एथ्लीट’ हुन्, जसले कलिलै उमेरमा शारीरिक शक्तिसँगै मानसिक दृढता र समय व्यवस्थापनको कलामा पनि महारत हासिल गरेका छन् । उनको यही अनुशासनले उनलाई भीडभन्दा अलग बनाएको छ ।

नेपाली माटाको सुगन्ध बोकेर इर्भिनले विश्वका विभिन्न कुनामा नेपाली झन्डालाई सबैभन्दा माथि फहराउने प्रयास गरिरहेका छन् । अष्ट्रेलियाको मेलबर्नमा आयोजित १६ औँ फिना विश्व सर्ट कोर्स च्याम्पियनसिप होस् वा इजरायलको नेतान्यामा भएको नवौं विश्व एक्वाटिक्स जुनियर च्याम्पियनसिप, इर्भिनले हरेक स्थानमा आफ्नो छाप छोडेका छन् । सन् २०२५ मा सिंगापुर र रोमानियामा भएका विश्व च्याम्पियनसिपमा उनले विश्वका उत्कृष्ट पौडीवाजहरूसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गरे । रोमानियामा ५० मिटर फ्रिस्टाइलमा उनले निकालेको २५.०३ सेकेन्डको समयले उनको गतिको क्षमतालाई अझ प्रष्ट पारेको छ । यी अन्तर्राष्ट्रिय मञ्चहरूले उनलाई पानीभित्र एउटा योद्धाका रूपमा रूपान्तरण हुन सिकाएका छन् ।

इर्भिनको वास्तविक लक्ष्य भने सन् २०२८ को लस एन्जलस ओलिम्पिक हो । उनको यो सपनालाई मूर्त रूप दिन नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि छात्रवृत्तिमार्फत प्रत्येक महिना १,१२५ अमेरिकी डलर प्रदान गर्दै आएको छ । उनी भन्छन्,–“मेरो लक्ष्य नेपालमा पौडी खेलको विकासमा योगदान पु¥याउनु र विश्व मानचित्रमा देशको नाम स्वर्ण अक्षरले लेखाउनु हो ।” उनको यो राष्ट्रवादी भावनाले सीमित स्रोतसाधनका बीच पनि ठूलो सपना देख्ने हजारौँ नेपाली बालबालिकाहरूलाई प्रेरित गरिरहेको छ । आज इर्भिन केवल एक खेलाडी मात्र होइनन्, उनी नेपाली स्विमिंगका एक यस्ता आशाका किरण हुन् जसले आफ्नो पसिनाले असम्भवलाई सम्भव तुल्याउन प्रयासरत छन् । प्रत्येक पटक जब उनी पानीमा हाम फाल्छन्, तब एउटा नयाँ आशा र नयाँ कीर्तिमानको सम्भावना जीवित हुन्छ । सन् २०२८ को ओलिम्पिकका लागि उनी जुन लयमा अगाडि बढिरहेका छन्, त्यसले सम्पूर्ण नेपालीलाई गर्व गर्ने अवसर दिनेछ भन्ने अपेक्षा छ ।











प्रतिक्रिया