हेटौंडा ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको छड्के अनुगमन गर्दा ड्युटी समयमा डाक्टर र कर्मचारी भेटिएनन् ।
त्यसपछि बिहीबार मन्त्रालयकी सचिव डा.सुमित्रा गौतम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली, रजिष्ट्रार तथा हेटौंडा अस्पताल अध्यक्ष भीमसागर गुरागाईं, निमित्त डाइरेक्टर डा.हरिबहादुर खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बोलाइ छलफलसहित निर्देशन दिएका छन् ।
ड्युटी समयमा अस्पतालमा नभेटिने डाक्टर-कर्मचारीलाई सचेत गराइ तत्काल सुधार गर्न उनले निर्देशन दिएका हुन् । अन्यथा, प्रदेश सरकारले त्यस्ता गैरजिम्मेवार कर्मचारी तथा डाक्टरहरु र अस्पताल प्रशासनलाई कारबाही गर्ने उनले चेतावनी दिए ।
बिदामा बस्दासमेत एक दिनअगाडि नै जानकारी गराएर बस्न, अस्पताल प्रशासनले त्यस समयमा बिरामीलाई असर नपर्ने गरी ड्युटी मिलान गर्न र ड्युटी समयमा अनिवार्यरुपमा ड्रेस लगाउन पनि उनले अनुरोध गरे । उनले अस्पतालभित्र सरसफाइमा ध्यान दिनसमेत अनुरोध गरे ।











प्रतिक्रिया