कपिलवस्तुमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी, बस पूर्ण रूपमा जलेर नष्ट


बुटवल ।

कपिलवस्तुमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा अचानक आगो लागेको हो।

प्रहरीका अनुसार आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। बसमा लागेको आगो स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइए पनि सवारी साधन जोगाउन भने सकिएको छैन। घटनाका क्रममा यात्रुहरू समयमै बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घटनापछि केही समय सडक आवागमन प्रभावित भएको थियो। अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।