अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र पाँच जनाभन्दा बढी भेला हुन निषेध


काठमाडौं ।

अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ। शान्ति–सुरक्षा तथा सार्वजनिक व्यवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार विमानस्थलको गोल्डेन गेट र त्यस आसपासको क्षेत्रमा भीडभाड, जमघट, प्रदर्शन तथा नारा–जुलुस गर्न नपाइने स्पष्ट गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रमा भेला हुने आह्वान हुन थालेपछि सम्भावित अवाञ्छित गतिविधि रोक्नका लागि निषेधाज्ञा लागू गरिएको जनाइएको छ।

प्रशासनका अनुसार यात्रुहरूको सहज आवागमन, उडान–अवतरणको सुरक्षा र समग्र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो। निषेधाज्ञा उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। प्रशासनले सबै पक्षलाई नियम पालना गर्न र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।