रास्वपाका नेता प्रणय शमशेर राणाको पदत्याग, ‘पार्टीभित्र बेथिति र अपारदर्शिता बढ्यो’ आरोप


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्। राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। “सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,” उनले पत्रमा उल्लेख गरेका छन्।

उनका अनुसार पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यास सही ढंगले गर्न नसकेको आरोप लगाउँदै उनले यस्तो संरचनाले भविष्यमा सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न नसकिने बताएका छन्। “अन्धभक्ति गर्न पनि चाहिनँ,” उनले लेखेका छन्। राणा पछिल्लो समय प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति असन्तुष्ट थिए। उनले प्राइमरी निर्वाचनमा सुरुदेखि नै चलखेलको सम्भावना राखिएको दाबी गरेका छन्। “प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो।

अहिले विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकारसमेत लुटियो,” उनको आरोप छ। त्यस्तै, १००० रुपैयाँ सदस्यता शुल्कमार्फत ३०० पालिकामा रकम पठाइने भनिए पनि त्यो कार्यान्वयन नभएको उनले उल्लेख गरेका छन्। प्राइमरी निर्वाचनका प्रक्रियामात्र नभई त्यसका नाममा संकलित ठूलो रकममा आर्थिक अपारदर्शिता र अपचलन देखिएको उनको दाबी छ। राणाले पार्टी स्थापना कालमा गरिएको ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने वाचा नै उल्टिएको टिप्पणी गरेका छन्।

उनका अनुसार अहिलेको अवस्था ‘थितिको अन्त्य–बेथितिको थालनी’ जस्तो देखिएको छ। उनले केन्द्रमा रहेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू समेत उक्त बेथितिको साझेदार भएको आरोप लगाएका छन्। राणाको राजीनामासँगै रास्वपाभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्व शैलीबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ। पार्टी नेतृत्वबाट यसबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ।